भोटेकोशी बाढीपीडितका लागि दुई विद्यालयद्वारा सहयोग

सिन्धुली/भोटेकोशीमा आएको बाढीका कारण विपत्तिमा परेकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम जारी रहेको छ।

यसै क्रममा सिन्धुलीका दुई विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् ।

कमलामाई नगरपालिका ९ भीमान स्थित कमला एकेडेमीक स्कुलले बाढीपीडितको राहतका लागि १ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयका प्रिन्सीपल डम्बर बहादुर श्रेष्ठले विपत्तिमा परेकाहरूलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारको तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

त्यस्तै सुनकोशी गाउँपालिका ३ बोहोरेटार सिन्धुली स्थित फाइभ स्टार इङ्लिस बोर्डिङ स्कुलले पनि बाढीपीडितको राहतका लागि ३५ हजार ५ सय ३५ रुपैयाँ सहयोग गरेको छ । विद्यालयका अध्यक्ष सोनी पाण्डेले दुःख र विपत्तिको समयमा सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्दा सहयोग हुने भएकोले विद्यालय परिवारको तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

दुवै विद्यालयले उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग स्वरूप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । दुवै विद्यालयबाट गरी कोषमा कुल १ लाख ४८ हजार ५ सय ३५ रुपैयाँ जम्मा भएको छ।

विद्यालयहरूले आज बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेर रकम जम्मा गरेर भौचर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

विपत्तिको समयमा पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले विद्यालयहरूले गरेको आर्थिक सहयोगले मानवीय सेवाप्रतिको प्रतिबद्धता देखाएको छ । भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था, विद्यालय तथा सामाजिक क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *