एक साताको हस्तलेखन तालिम सम्पन्न, २८ विद्यार्थी पुरस्कृत
सिन्धुली/प्रबोधिनी लिपि एकेडेमीले आधुनिक इङ्लिस बोर्डिङ स्कुलको सहयोगमा सञ्चालन गरेको एक साताको हस्तलेखन तालिम सम्पन्न भएको छ ।
गत ३ गतेदेखि सुरु भएको तालिम ११ गते समापन भएको थियो । तालिम अन्तर्गत उत्कृष्ट विद्यार्थीलाई आज पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।
तालिममा ३ सय ३० जना विद्यार्थीको सहभागिता रहेको थियो । तालिमको अन्तिम दिन हस्तलेखन प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २८ जना विद्यार्थीहरुलाई आज प्रथम, द्वितीय र तृतीय स्थानका आधारमा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगिता नेपाली र अंग्रेजी गरी दुई विधामा सञ्चालन गरिएको थिया । दुवै विधाबाट १४- १४ जना विद्यार्थीलाई उत्कृष्ट घोषित गरी पुरस्कृत गरिएको छ ।
विद्यार्थीहरूलाई कक्षाको आधारमा चार समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो । कक्षा १ देखि २, कक्षा ३ देखि ५, कक्षा ६ देखि ८ तथा कक्षा ९ देखि १० सम्मका विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा राखेर प्रतियोगिता गराइएको थियो ।
आधुनिक इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक भानु गुरुङले तालिम निकै राम्रोसँग सम्पन्न भएको बताउनुभयो । उहाँले तालिमपछि विद्यार्थीहरूको हस्तलेखनमा उल्लेखनीय सुधार आएको बताउँदै हस्तलेखन विद्यार्थीका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

तालिमपछि आफ्नो लेखाइमा सकारात्मक परिवर्तन आएको भन्दै विद्यार्थीहरू पनि खुसी भएका छन् । नियमित अभ्यास र प्रशिक्षणले लेखाइ सुधारसँगै विद्यार्थीमा आत्मविश्वा ससमेत बढेको उनीहरूको भनाइ छ ।
आयोजकका अनुसार विद्यार्थीको हस्तलेखन सुधार गर्नुका साथै सफा, स्पष्ट र आकर्षक लेखनको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बोधिनी लिपि एकेडेमीका फाउन्डर बिना बसेलले बताउनुभयो ।



