भोटेकोशी बाढीपीडितलाई दुई नम्बर बजार टोल विकास संस्था र कारागार कार्यालयको साथ

सिन्धुली/भोटेकोशीमा आएको बाढीका कारण विपत्तिमा परेकाहरूको राहतका लागि सहयोग जुटाउने क्रम जारी छ ।

यसैक्रममा कमलामाई नगरपालिका–६, माढीबजारस्थित दुई नम्बर बजार टोल विकास संस्थाका सदस्यहरूले ५१ हजार २०५ रुपैयाँ बाढी पीडितलाई सहयोग गरेका छन् । यस वर्षको हरितालिका तीजका अवसरमा दर खाने कार्यक्रमका लागि सङ्कलन गरिएको रकम कार्यक्रम रद्द गरी विपद्मा परेका पीडितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो ।

निर्णयअनुसार रु. ५१ हजार २०५ रुपैयाँ रकम कोषमा जम्मा गरी त्यसको भौचर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको टोल विकास संस्थाले जनाएको छ । “थोपा–थोपा मिले समुद्र हुन्छ भनेझैँ हामीले गरेको सानो सहयोगले पनि विपत्तिमा परेकाहरूलाई केही राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेका हौँ,” टोल विकास संस्थाकी सदस्य रीता बुढाथोकीले भन्नुभयो ।

त्यस्तै कारागार कार्यालय, सिन्धुलीमा रहेका कैदीबन्दीहरूले रसुवा जिल्लाका बाढीपीडित नागरिकहरूको राहत तथा उद्धारका लागि आफ्नो तर्फबाट सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा दाखिला गरेका छन् ।

विपद्को यस कठिन घडीमा मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्दै सिन्धुलीका कैदीबन्दीहरूले समेत सहयोग गरेका छन् । उनीहरूले विपद् प्रभावितको राहत तथा उद्धारका लागि १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका हुन् । कठिन परिस्थितिमा कैदीबन्दीहरूले गरेको यो सहयोगले मानवीयता र सामाजिक एकताको सकारात्मक सन्देश दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *