संघसंस्था र विद्यालयले गर्याे ३ लाख ९७ हजारभन्दा बढी सहयोग
सिन्धुली/रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको दुःखमा साथ दिन सिन्धुलीका विभिन्न संघसंस्था तथा विद्यालयले आर्थिक सहयोग गरेका छन् ।
बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि संघसंस्था र विद्यालयले ३ लाख ९७ हजारभन्दा धेरै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।


सहयोग अभियान अन्तर्गत बैंकान्स्योरेन्स क्लब सिन्धुलीले ८५ हजार ८ सय ३३ रुपैयाँ प्रदान गरेको छ । उक्त रकम जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । आज क्लबका अध्यक्ष विष्णु ढकाल लगायतका पदाधिकारी तथा सदस्यहरूले प्रमुख जिल्ला अधिकारीलाई रकम हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालय माढीबजारमा अध्ययनरत बालबालिकाहरूले १ लाख ३२ हजार ७ सय रुपैयाँ सहयोग गरेका छन् । भोटेकोशी बाढीपहिरो पीडितको सहयोगार्थ विद्यार्थीहरूले आफ्नै पहलमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

यसैगरी रातमाटा टोल विकास संस्थाले पनि ८२ हजार २ सय ८१ रुपैयाँ सहयोग गरेको छ । विपद्को समयमा पीडित नागरिकलाई राहत पु¥याउने उद्देश्यले संस्थाले उक्त रकम प्रदान गरेको जनाएको छ । तीनै पक्षबाट गरी २ लाख ९८ हजार ३ सय १४ रुपैयाँ सहयोग भएको देखिन्छ ।

बाढीपहिरोले घरबार, रोजगारी र आफन्त गुमाएका परिवार राहतको पर्खाइमा रहेका बेला सिन्धुलीबाट जुटेको सहयोगले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।


