साइनिङ मुन एकेडेमी र सिन्धुली एकता सहकारीले दिए १ लाख २ हजार
सिन्धुली/रसुवामा आएको विनाशकारी बाढी र पहिरोले पीडित बनेका नागरिकको दुःखमा सिन्धुलीले साथ दिएको छ ।
उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिन्धुलीका दुई संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २ हजार २२२ रुपैयाँ सहयोग गरेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका ५ मा रहेको साइनिङ मुन एकेडेमी बोर्डिङले रसुवाका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ हजार १११ रुपैयाँ सहयोग गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रलात कुमार पोखरेलले विपद्को यस कठिन घडीमा पीडितका लागि गरिएको सानो सहयोगले पनि ठूलो आशा र सहारा प्रदान गर्ने बताउनुभएको छ । बाढी तथा पहिरोका कारण धेरै परिवार घरबारविहीन र शोकाकुल बनेको भन्दै पीडितको दुःखमा साथ दिन सहयोग गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति हार्दिक सहानुभूति प्रकट गरेको छ । त्यसैगरी सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका प्रवद्र्धक दिपेन्द्र बस्नेतले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताउनुभयो । त्यस्तै उहाँले आफूले सकेको सहयोगमार्फत पीडितको उद्धार तथा राहतमा केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताउनुभयो ।
रसुवामा बाढी तथा पहिरोले ठूलो क्षति पु¥याइरहेको अवस्थामा सिन्धुलीबाट गरिएको यो सहयोगले ‘दुःखमा साथ, विपद्मा हातेमालो’ भन्ने मानवीय भावनालाई उजागर गरेको छ ।


