सापारुमा यस वर्ष मौन ¥याली

सिन्धुली/हरेक वर्ष बाजागाजा र सांस्कृतिक उत्साहका साथ मनाइने सापारु (गाईजात्रा) यसपटक सिन्धुलीमा भने मौन बनेको छ ।

रसुवा हुँदै भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै नेवाः देय् दबू सिन्धुलीले यस वर्ष सापारु मौन ¥यालीमार्फत मनाएको हो ।

बाढी तथा विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै शनिबार बिहान मौन ¥याली निकालिएको हो ।

कमलामाई नगरपालिका ६ स्थित नेवाः देय् दबूको कार्यालयबाट बिहान ८ बजे सुरु भएको ¥यालीमा नेवाः समुदायसँगै विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, बुद्धिजीवी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

¥यालीमा सहभागीहरूले विपद्मा परी ज्यान गुमाएकाहरूको सम्झनामा मौन श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित परिवारप्रति मानवीय सद्भाव र ऐक्यबद्धता प्रकट गरेका थिए ।

¥यालीपछि आयोजित कोणसभामा नेवाः देय् दबू कमलामाई नगर समितिका अध्यक्षले सापारु मृतक आफन्तको सम्झना गर्ने र परिवारको दुःखलाई समुदायले सामूहिक रूपमा बाँड्ने सांस्कृतिक पर्व भएको बताउनुभयो ।

उहाँको अनुसार वर्षभरिमा दिवंगत भएका समुदायका सदस्यहरूको सम्झनामा सापारुका अवसरमा गाई वा गाईको प्रतीकसहित जात्रा निकाल्ने परम्परा छ ।

‘सापारु केवल रमाइलो र उत्सवको पर्व मात्र होइन, दिवंगत आफन्तको सम्झना गर्ने र दुःखमा रहेका परिवारसँग समुदायले दुःख बाँड्ने अवसर पनि हो,’ उहाँले भन्नुभयो ।

यसै सांस्कृतिक मान्यतालाई आत्मसात् गर्दै रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारको पीडामा ऐक्यबद्धता जनाउन यस वर्ष बाजागाजा तथा मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरिएको उहाँले बताउनुभयो ।

नेवाः देय् दबू सिन्धुलीले प्राकृतिक विपद्का कारण प्रभावित परिवारको दुःखमा समुदाय साथमा रहेको सन्देश दिन मौन ¥याली आयोजना गरिएको हो । यस वर्षको सापारुले उत्सवभन्दा संवेदना, बाजागाजाभन्दा मौनता र मनोरञ्जनभन्दा मानवीय ऐक्यबद्धतालाई प्राथमिकता दिएको छ ।

सापारुको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै नेवाः समुदायले विपद्मा ज्यान गुमाएकाहरूको सम्झना र पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै मानवता र सामाजिक एकताको सन्देशसमेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *