रुद्रबहादुर खड्कालाई ३२औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’

 

सिन्धुली/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८३ सालको ३२औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ मानव अधिकारकर्मी रुद्रबहादुर खड्कालाई प्रदान गर्ने भएको छ ।

इन्सेकले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै मानव अधिकार, सामाजिक न्याय तथा सीमान्तकृत समुदायको अधिकारका पक्षमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप कमलामाई नगरपालिका ९ भीमान निवासी खड्कालाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित तीन सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा खड्कालाई सम्मान गर्ने निर्णय गरिएको इन्सेकले जनकारी दिएको छ ।

इन्सेकका अनुसार खड्काले मानव अधिकार उल्लङ्घन, अन्याय, विभेद, दण्डहीनता तथा सामाजिक बहिष्करणका घटनालाई निरन्तर उजागर गर्दै पीडित तथा सीमान्तकृत समुदायको आवाजलाई सार्वजनिक सरोकारको विषय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। शारीरिक असक्तताका बाबजुद पनि उनले मानव अधिकार, सामाजिक न्याय र मानवीय मर्यादाको संरक्षणका लागि देखाएको साहस, प्रतिबद्धता र निरन्तर सक्रियताको उच्च मूल्याङ्कन गर्दै उनलाई पुरस्कारका लागि छनोट गरिएको हो ।

इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयरको विमान दुर्घटनामा निधन भएको थियो। नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उनले पु¥याएको योगदानको सम्मान गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउन इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ स्थापना गरेको हो । उक्त पुरस्कार इन्सेकले राजनीतिक, शैक्षिक, स्वास्थ्य, सामाजिकलगायत विभिन्न क्षेत्रमा अधिकारमुखी चेतनाका साथ विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ ।

इन्सेकको अनुसार पुरस्कार २०८३ साउन १६ गते काठमाडौंमा आयोजना हुने एक विशेष समारोहमा प्रदान गरिनेछ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सम्मानपत्र सहित रु. ५० हजार नगद प्रदान गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *