अझै न्युन हुन सकेन यौनजन्य हिंसाका घटना, प्रहरी भन्छ:सहकार्य र आपसी सहयोगमा समाधान सम्भव छ
सिन्धुली/सिन्धुलीमा यौनजन्य हिंसाका घटनामा अपेक्षा अनुसार कमी आउन नसकेको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ३३ वटा यौनजन्य हिंसाका घटनाहरु दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको अनुसार पछिल्लो १२ महिनाको अवधिमा यी घटना प्रहरीमा दर्ता भएको हो ।
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म कुल १०५ वटा यौनजन्य हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी ४१ वटा घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०/०८१ मा ३१ वटा र आर्थिक वर्ष २०८२/०८३ मा ३३ वटा घटना भएका छन् ।
यौनजन्य हिंसामध्ये सबैभन्दा बढी बलात्कारका घटना रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार पछिल्ला तीन वर्षमा बलात्कारको मात्रै ६६ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी ३० वटा, आर्थिक वर्ष २०८२/०८३ मा २६ वटा र आर्थिक वर्ष २०८०/०८१ मा २० वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार बलात्कार प्रयासका घटना पनि बढ्दै गएको देखिएको छ । तीन वर्षको अवधिमा बलात्कार प्रयासका घटना २१ वटा घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा १० वटा, २०८०/०८१ मा ८ वटा र २०८२/०८३ मा ३ वटा बलात्कार प्रयासका घटना भएको छ । साथै बाल यौन दुर्व्यवहारको घटनामा पनि पछिल्लो समय वृद्धि हुँदै गएको छ । तीन वर्षमा ६ वटा बाल यौन दुर्व्यवहारका घटना दर्ता भएका छन् । तीमध्ये आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ४ वटा घटना भएका छन् भने आर्थिक वर्ष २०८१/०८२ र २०८०/०८१ मा एक–एक वटा घटना दर्ता भएका थिए ।
वैवाहिक बलात्कारका २ वटा घटना आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका थिए । त्यसपछिका दुई आर्थिक वर्षमा भने वैवाहिक बलात्कारसम्बन्धी कुनै पनि उजुरी प्रहरीमा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा उल्लेख छ । यौनजन्य हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन, विद्यालय केन्द्रित सचेतना अभियान तथा कानूनी पहुँच विस्तारलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको प्रहरीको भनाइ छ । सबैको साथ र सहकार्यमा प्रत्यक्ष फिल्डमा कार्यक्रम सन्चालन गर्नसके यस्ता प्रकारका घटनाहरु न्युन गर्न सकिन्छ ।


