किसानको जीविकोपार्जनमा सहयात्री बनिरहेको हरिहरपुरगढी

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ हाकपाराकी लीलामाया रखाल मगरको धेरैजसो समय खेतबारीमै बित्ने गर्छ । घरधन्दा सकेर खेततर्फ लाग्ने लीलामायाको दैनिकी अहिले केवल खेतीपातीमा मात्र सिमित नभई आत्मनिर्भरताको यात्रासँग पनि जोडिएको छ ।

प्रत्येक बिहान नयाँ जोश, आशा र आत्मविश्वासका साथ उनी आफ्नो तरकारी बारीमा पुग्छिन् । गोलभेँडा, सागसब्जी तथा अन्य तरकारी बालीको स्याहार–सुसार गर्दै दिन बिताउने लीलामायाको जीवनमा हरिहरपुरगढी गाउँपालिकाको कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रमले परम्परागत कृषि प्रणालीबाट आधुनिक प्रविधिसंग जोडिदिएको छ । विगतमा परम्परागत खेतीमा निर्भर रहँदा उत्पादन कम हुने, मौसमको मार खेप्नुपर्ने जस्ता समस्या थियो । तर अहिले अवस्था फेरिएको छ । पाँच जनाको सदस्य रहेको उनको परिवारको मुख्य आयश्रोत अहिले कृषि नै बनेको छ ।

पहिले परम्परागत तरिकाले खेती गर्दा मौसमको भर पर्नुपर्थ्यो । अहिले गाउँपालिकाले उपलब्ध गराएको टनेल, मोटर र हाते ट्याक्टरका कारण काम गर्न सहज भएको छ ।

आर्थिक वर्ष २०८२/२०८३ को कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाले करिब डेढ लाख रुपैयाँ बराबरको कृषि सामग्रीहरु अनुदानमा उपलब्ध गराएपछि लीलामायाको कृषि पेशालाई व्यवस्थित र व्यावसायिक बनाएको छ । गाउँपालिकाबाट प्राप्त तीनवटा टनेल प्लास्टिक, हाते ट्याक्टर र पानी तान्ने मोटरले उनलाई खेती गर्न सहज भएको छ । हाल उनको श्री अर्गानिक कृषि तथा पशुपंक्षी फर्ममा तीनवटा टनेल निर्माण भएका छन् ।

एउटा टनेलमा टमाटर खेती भइरहेको छ भने अन्य दुई टनेल उत्पादन विस्तारको तयारीमा छन् । “पहिले परम्परागत तरिकाले खेती गर्दा मौसमको भर गर्नुपर्थ्यो । अहिले गाउँपालिकाले उपलब्ध गराएको टनेल, मोटर र हाते ट्याक्टरका कारण काम गर्न सहज भएको छ ।” उनी खुशी हुँदै भन्छिन्, “उत्पादन बढेको छ र आम्दानी पनि विस्तारै वृद्धि हुँदै गएको छ । यो सहयोगले हामीलाई जीविकोपार्जनको बलियो आधार बनाइदिएको छ ।”

त्यस्तै गाउँपालिकाको कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रमको सहयोगले आफ्नो जीवनयापनमा ठूलो साथ मिलेको बताउँछिन् हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ बखवरकी प्रभा राई । कुनै समय ६ सदस्यीय परिवारको दैनिक गुजारामा निकै धाउधाउ परेको प्रभाको जीवनमा अहिले उल्लेखनीय सुधार भएको छ ।

सिड्स नेपालको कोपिला परियोजना र हरिहरपुरगढी गाउँपालिकाको सहकार्यमा अहिले उनले आफ्नो कृषि फर्म दर्ता गरी व्यावसायिक खेती सुरु गरेकी छिन् । ५० प्रतिशत अनुदानमा प्राप्त पानी तान्ने मोटर, पाइप, स्प्रे ट्याङ्की, टनेल तथा जालीले उनको कृषि उत्पादकत्वमा वृद्धि भएको छ । यस वर्ष उनले टनेलभित्र काँक्रा र गोलभेँडा खेती गरेर राम्रो आम्दानी गर्न सफल भएकी छन् । साथै प्रभालाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/२०८३ मा २ केजी हाइब्रिड मकैको बीउ उपलब्ध गराएको थियो । उक्त हाइब्रिड मकैको बीउ एक कठ्ठा जमिनमा रोपि करिब २५ केजी मकै उत्पादन गर्न सफल भएकी छिन् । यसले आधुनिक बीउ र प्रविधिको प्रयोगले उत्पादन वृद्धि गर्न सकिने तथ्यलाई पनि पुष्टि गरेको छ । “पहिले पानीको अभाव र आवश्यक सामग्री नहुँदा खेती गर्न धेरै कठिन थियो। अहिले गाउँपालिकाको सहयोगले टनेल, मोटर र अन्य सामग्री पाएपछि उत्पादन बढेको छ ।” प्रभा भन्छिन्, “काक्रा र गोलभेडाबाट राम्रो आम्दानी भयो । हाइब्रिड मकैले पनि राम्रो उत्पादन दियो । यसले हाम्रो परिवारको आर्थिक अवस्था सुधार्न ठूलो सहयोग पुगेको छ ।”

पछिल्ला वर्षहरूमा हरिहरपुगढी गाउँपालिका कृषि विकास र कृषक सशक्तिकरणको उत्कृष्ट उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई आर्थिक समृद्धिको मुख्य आधार मानेर कृषकहरूलाई आधुनिक प्रविधि, अनुदान, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसको सकारात्मक प्रभाव गाउँका किसानहरूको जीवनमा स्पष्ट रूपमा देखिन्छ । यी सफलताका पछाडि हरिहरपुरगढी गाउँपालिकाको समृद्धिको दर्शन र कृषिमैत्री नीति रहेको छ ।

पालिकामा कृषि क्षेत्रमा लगानी बढाउने, आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने तथा कृषकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेको हरिहरपुगढी गाउँपालिकाको कृषि अधिकृत प्रवेश देवकोटाले बताए । उनले भने “हरिहरपुरगढी गाउँपालिकाले कृषकहरूको हितलाई उच्च प्राथमिकतामा राखेको छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषकहरूलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो । त्यसका लागि आधुनिक प्रविधि, अनुदान, तालिम र प्राविधिक सेवा निरन्तर उपलब्ध गराइँदै आएको छ ।”

कृषकमैत्री नीति, प्रभावकारी कार्यक्रम र निरन्तर सहयोगका कारण हरिहरपुरगढी गाउँपालिका आज ग्रामीण कृषि विकासको नमूना बन्दै गएको छ । यस्ता कार्यक्रमहरू आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार हुन सके कृषि उत्पादन, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने निश्चित छ । आत्मनिर्भर र स्वरोजगार बन्न अभिप्रेरित गर्दै यसका लागि स्थानीय सरकारले गर्नुपर्ने काम गर्न गाउँपालिका सदैव तयार रहेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बताए । कृषिको जगमा टेकेर किसानमैत्री कार्यक्रमहरु सन्चालन गर्दै गाउँपालिकालाई समृद्ध बनाउने यो यात्रा सफलताको नजिकै छ ।

(हरिहरपुरगढी गाउँपालिकाको सहयोगमा तयार पारिएको)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *