जुनारको पकेट क्षेत्रमा सरोकारवाला निकाय तथा मिडियाबाट अनुगमन
सिन्धुली/सिन्धुलीको जुनारको पकेट क्षेत्रका सञ्चालित कार्यक्रमहरुको सरोकारवाला निकाय तथा मिडियाबाट हिजो बुधबार संयुक्त अनुगमन गरिएको छ ।जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, सिन्धुली जिल्ला अदालतका न्यायाधिस कोमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमतीका उपाध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, सुरक्षा निकायका प्रमुखहरु, कृषिसँग सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरु, कोलेनिकाका प्रतिनिधि, जिल्लाका क्रियाशिल पत्रकारहरु लगाएत सरोकारवालाहरुको सहभागितामा उक्त अनुगमन गरिएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीको आयोजनामा गोलञ्जोर गाउँपालिका वडा नं. ४ माझकुभिण्डेको आलेगाउँ लगाएतका ठाउँको जुनार बगैंचा ,सिंचाई तथा कोल्ड स्टोरको अनुगमन गरिएको हो ।उक्त गाउँमा ७५ घर धुरी रहेका छन् ।जहाँको मुख स्रोतनै जुनार हो ।त्याहाँका किसान जुनार र सुन्तलाबाट वार्षिक १७ लाख देखी २० लाख सम्म आम्दानी गर्दछन् ।
अनुगमन पश्चात जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले जुनारलाई प्रवद्र्धन गर्न र बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले स्थानिय सरकारले जुनारमा गरेको सहयोगमा पनि आफुलाई निकै खुसी लागेको बताउनुभयो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीले किसानहरु लाई उत्साहित बनाएर अमिलो जातका फलफुल लगाउन लगाउँदा र त्यस बाट किसानले मनग्य आम्दानी गरीरहँदा निकै खुसी लागेको समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले किसानहरुको उच्च मनोवल राख्न र कृषकलाई कृषि पेसामा थप उर्जा सहित काम गर्नको लागि सहयोग गरेकोमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली लाई धन्यवाद व्यक्त गर्नुभयो ।कृषकलाई आकर्षित कसरी गर्न सकिन्छ उच्च प्रतिफल दिने कसरी बनाउने र दिगो उत्पादनमा ध्यान दिन आवश्यक रहेको समेत बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै जुनार किसान लोक बहादुर आलेले वर्षिक जुनार बेचेर २० लाख सम्म आम्दानी हुने बताउनुभो ।गत वर्ष भन्दा यो वर्ष निकै राम्रो उत्पादन भएकाले आम्दानी राम्रो हुन सक्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीका प्रमुख प्रदीप ठाकुर बरहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सहजीकरण कार्यालयका लेखापाल डिल्ली सौगात घिमिरेले गर्नुभएको थियो ।


