सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सुरू

सिन्धुली/सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेलाको आज एक कार्यक्रम बीच उद्घाटन गरिएको छ। मेला जिल्ला समन्वय समितिका प्रमुख कारसाङ्ग लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
लामाले नीमको पात रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लास्तरमा कृषिमा आधारित उत्पादन तथा उद्यमीहरुलाई आफ्नो व्यवसायको प्रवर्द्धन गर्न, उत्पादनमा प्रोत्साहन गर्न, सिप प्रविधि र दक्षताको अनुभवको आदान प्रदान गर्न, उत्पादित एंव प्रशोधित कृषिजन्य बस्तुहरुको बजारिकरणसँग नीतिगत सहजीकरण गर्न, महिलाको समभागिता, व्यवसायिक सिप र क्षमताको अभिवृद्धि र कृषि उपजहरुलाई उद्यमशीलता मार्फत राम्रो मूल्य प्राप्त गर्ने उपायहरुको जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले मेला बागमती प्रदेशको एउटा नमूना मेला भएको बताउनुभयो । तीन दिनसम्म संचालन हुने मेलालाई भव्य, सभ्य र प्रभावकारी रुपमा सफल बनाउन सम्वन्धित सवैमा वहाँले आग्रह समेत गर्नुभएको छ ।
सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका, कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग र मुना कृषि लिमिटेड ललितपुरको प्राविधिक सहयोगमा मेला सन्चालन भएको हो । तीन दिनसम्म सन्चालन हुने मेलाको एक हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
मेलामा उद्यमसंग सम्बन्धित कम्तीमा ३६ वटा स्टलहरू रहने बताइएको छ । महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु स्टलमा रहनेछन् । यसका अलावा बालबालिकाहरूका लागि मनोरञ्जनात्मक गतिविधिहरू, योेगअभ्यास, कृषिसँग सम्बन्धित चित्रकला प्रतियोगिता, विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायतका आकर्षणहरु मेलामा रहनेछन् ।