गुर्जीडाँडास्थित सम्झना प्राविको नवनिर्मित भवन उद्घाटन

मंसिर ३, सिन्धुली/हरिहरपुरगढी गाउँपालिका–१ गुर्जीडाँडास्थित सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सोमबार एक समारोहबीच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले भवनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य दाहालले विद्यालयको सुन्दर भवनबाट बालबालिकालाई उन्नत ज्ञान र चेतना प्रवाह गर्ने सामर्थ्य राख्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले नवनिर्मित विद्यालयमा आवश्यक सामग्री डेस्क बेञ्चका साथै घेराबार, शौचालय, खेलकुद चौरलगायत पूर्वाधार निर्माणका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

संघीय सरकारले विद्यालयको आवश्यकताअनुसार बजेट बिनियोजनका लागि एकमुष्ट बजेट पालिकामा पठाउने गरेको उहाँको भनाइ थियो । “ गत वर्ष संघीय सरकारको तर्फबाट अनुदानमा पालिकाभित्रका सम्बन्धित विद्यालय भवन, घेराबार भनेर नाम तोकेर पठाएका थियौ । त्यसो गर्दा आवश्यकता एकातर्फ बजेट अर्कोतर्फ भयो । त्यसैले चालु आर्थिक वर्षमा गाउँपालिकालाई एकमुष्ट बजेट पठाएर आवश्यकताअनुरुप बजेट विनियोजन गर्ने व्यवस्था गरियो,” सांसद दाहालले भन्नुभयो ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले विद्यालयको भौतिक संरचना आकर्षक र सुन्दर बनेकाले अब विद्यार्थीलाई संस्कारसहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको भवन सबैको साझा सम्पत्ति भएकोले यसको रेखदेख गर्ने दायित्व स्थानीयकोसमेत भएको बताउनुभयो ।

संघीय सरकारको विशेष अनुदानमा उक्त विद्यालयको चारकोठे भवन निर्माण गरिएको हो । २०८१ पुस २२ गते कुण्डलीनी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग ३५ लाख ६८ हजार रुपैयाँमा निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले गत जेठ ३० गते विद्यालय भवन निर्माण सम्पन्न गरेको थियो । भवन निर्माण सम्पन्न हुँदा सम्झौता रकमभन्दा न्यून ३४ लाख ३७ हजार ८८० रुपैयाँ खर्च भएको सोमबार सार्वजनिक विवरणमा उल्लेख छ ।

गाउँपालिकामा चालु आर्थिक वर्षमा संघीय सरकारको अनुदानबाट ५ वटा प्राथमिक विद्यालयको भवन निर्माण सम्मन्न हुने क्रममा रहेको जानकारी दिइएको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, १ नम्बर वडाका अध्यक्ष जितबहादुर थिङलगायत उपस्थित रहनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *