• भदौ १३,सिन्धुली/ गत शनिवार (भदौ ८ गते) साँझ सुनकोशी नदीमा खसेको गाडीसँगै बेपत्ता भएका यात्रुहरू छ दिन बितिसक्दा पनि फेला परेका छैनन् । मध्यपहाडी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–१ कुडुलेमा खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको प्रदेश ३–०१०२३ च ६३६६ नम्बरको सुजुकी हाईलक्स गाडी नदीमा खसेको थियो ।

    सो गाडीमा सवार चार जनामध्ये एकजना गाडीबाट हामफालेर बाँच्न सफल हुँदा बाँकी तीन जना बेपत्ता भएका थिए । गाडीका चालक सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका ३२ वर्षीय अविन बाँके, सोही ठाउँका वर्ष ३० का प्रनित स्यागु र वर्ष ३७ का बलराम घटुवा अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    छ दिनदेखि लगातार बेपत्ताको खोजीकार्य भइरहेको छ । खुर्कोट सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी, गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि, बेपत्ताका आफन्त र स्थानीयले संयुक्तरुपमा बेपत्ताको खोजी गरिरहेको भए पनि फेला पार्न नसकिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

    सुनकोशी नदीमा पानीको बहाव बढेका कारण खोजीकार्यमा थप कठिनाइ भइरहेको प्रहरी प्रमुख काफ्ले बताउनुभयो । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको करिब ३२ किलोमिटर तल उदयपुरको घुर्मीसम्म बेपत्ताको खोजी गरिरहेको जानकारी दिइएको छ ।