सिन्धुलीमा बृद्ध मृत फेला

भदौ १०, सिन्धुली/सिन्धुलीमा आज (सोमबार) बृद्ध मृत फेला परेका छन् । कमलामाई नगरपलिका–६ खम्बेचौर नजिकै ग्वाङखोलाको छेउमा बृद्ध मृत भेटिएका हुन् ।
मृतक लगभग ४०, ४५ बर्ष देखि सिन्धुलीको कमलामाई नगरपालिका–६ धुरा बस्ने रामेछापका राम बहादुर मगर रहेका छन् ।
अन्दाजी ७० बर्षीय बृद्ध ग्वाङखोलामा कपडा फुकालेर ढुङ्गामा सुकाएको र त्यहि लौरो गाडेर भित्तामा अडेस लागेको ठाउँमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिनुभयो ।
“नुहाएर कपडा ढुङ्गामा सुकाएको हुन सक्छ । अगाडि लौरो पनि गाडेको रहेछ । भित्तामा अडेस लगाएर बसेकै ठाउँमा मृत भेटिएको हो । शरिरमा चोटपटक केहि पनि छैन ।” उहाँले भन्नुभयो ।
बालवालिकाले चौरमा खेल्ने क्रममा देखेर खबर गरेका थिए । मृतकको शव सिन्धुली अस्पताल सिन्धुलीमा राखिएको छ । आफन्तहरु कोहि पनि सम्पर्कमा नआएको कारण पोष्टमार्टम गरिएको छैन ।
केहि दिन कुर्दा पनि मृतकको आफन्तहरु सम्पर्कमा नआएमा कमलामाई नगरपालिका सँग समन्वय गरेर पोष्टमार्टम पश्चात शव व्यवस्थापन गरिने प्रहरी निरिक्षक कटवालले बताउनुभयो । मृतक मगर लामो समयदेखि माढीबजारमा भारी बोकेर गुजारा चलाउने गरेको स्थानीयले बताएका छन् ।