• साउन १, सिन्धुली/सिन्धुलीमा जघन्य अपराधका मुद्धा दर्ता कमी आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तीन आर्थिक बर्षको तथ्याङ्क हेर्दा जिल्लामा सामान्य किसीमको अपराधिक घटना घटेपनि जघन्य अपराध कमी देखिन्छ ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/७९ मा लागुऔषध सम्बन्धी ४९, जवरजस्ती करणी ४६, कर्तव्य ज्यान ८, हातहतियार खरखजना ८ र मानव बेचविखन १ गरी १ सय १२ वटा मुद्धा दर्ता भएको थियो ।
    आर्थिक बर्ष २०८९/८० मा लागुऔषध सम्बन्धी ३९, जवरजस्ती करणी ३०, हातहतियार खरखजना ३ र अपहरण तथा शरिर बन्धक १ गरि ७३ वटा मुद्धा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।
    सो संख्या घटेर आर्थिक बर्ष २०८०/८१ मा लागुऔषध सम्बन्धी २५, जवरजस्ती करणी २२, कर्तव्य ज्यान ३, हातहतियार खरखजना ३, मानव वेचविखन ४ र अपहरण तथा शरिर बन्धक १ वटा गरि ५८ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लले जानकारी दिनुभयो ।
    प्रहरीको सक्रियता र अपराधजन्य मानसिकता भएका व्यक्तिहरुलाई सम्झाई–बुझाई गर्दै त्यस्तो गतिविधिबाट टाढा राख्न गरिएको क्रियाकलापबाट जिल्लामा जघन्य अपराधका घटनामा कमी आएको प्रहरी प्रमुख काफ्लले बताउनुभयो ।
    प्रहरीले शान्ति सुरक्षाको लागि जिल्लामा जनशक्ति तथा साधनस्रोतको उच्चतम् परिचालन, जिल्ला सुरक्षा समितिको नियमित बैठकमा सुरक्षा बिश्लेषण, सुरक्षा निकाय, स्थानियतह लगायत अन्य सम्बन्धित पक्षहरूबिच आपसी समन्वय र सहकार्य, विभिन्न कार्ययोजना सहित सुरक्षा योजना निर्माण तथा कार्यान्वयन, तालिका सहित दैनिक विभिन्न ठाउँहरुमा ट्राफिक सहितको चेकिङ्ग, ग्रामीण गस्ती तथा सामुदायिक प्रहरी कार्यक्रम संचालन मार्फत बिभिन्न सचेतनामुलक कार्य गर्दै आएको छ ।