• मंसिर १, सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकामा यो वर्ष जुनार, सुन्तलाको उत्पादन घटेको छ । जुनार, सुन्तला उत्पादनको पकेट क्षेत्र मानिने गोलन्जोर गाउँपालिकामा यो वर्ष जुनार, सुन्तला उत्पादनमा झण्डै १० करोडले घट्ने भएको हो ।

    गत बर्ष जुनारबाट कृषकहरुले अनुमानित ५५ करोड आम्दानी लिएकोमा यो बर्ष अनुमानित ४५ करोड मात्रै लिनसक्ने देखिएको छ । जुनार, सुन्तला उत्पादनमा अग्रणी मानिएको गोलन्जोरमा गत बर्ष भन्दा यो बर्ष कृषकहरुको जुनार, सुन्तलाबाट कम आम्दानी हुने गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष तथा कृषि संयोजक ज्वाला प्रसाद न्यौपाने (पुकार) ले बताउनु भएको छ ।

    गाउँपालिकाले निर्धारण गरेको मूल्यबाट नै मनग्य आम्दानी लिएका गोलन्जोरका कृषकहरुले यसपाली जुनारको बगैँचामा लागेको सुँढे पुतलीका कारण उत्पादन घटेसंगै आम्दानी पनि घट्ने कृषि संयोजक न्यौपानेले बताउनुभयो । जुनारको हरियो फलमै सुँढे पुतली लागेपछि गाउँपालिकाले जुनार सुपर जोनसँग समन्वय गरेर नार्कबाट किरा विज्ञहरु ल्याएर अनुसन्धान तथा रोग नियन्त्रणको लागि पहल गरेको कृषि संयोजक न्यौपानेको भनाई छ ।

    “पुतली नियन्त्रणको लागि प्राटिन बेट बिषादीको प्रयोग र विज्ञ, प्राविधिक तथा कृषकहरुले लगातार प्रयास गरेपछि बाँकि बसेको जुनार अहिले बजारमा आएको छ” उहाँले भन्नुभयो । अर्काे बर्ष बाहिरबाट जुनारको विरुवा ल्याउनको निम्ति गाउँपालिकाले प्रतिबन्ध लगाउने तयारी गरेको उहाँले बताउनु भयो । बाहिरबाट ल्याइएको बिरुवामा विभिन्न किसिमका रोग समेत भित्रने गरेको किरा विज्ञहरुको भनाई छ । यो बर्ष प्रत्येक जुनार, सुन्तला व्यवसायिले सामान्यतया २० लाख देखि माथि आम्दानी लिने समेत उहाँले बताउनु भयो ।

    उत्पादन घटेकोले यो बर्ष बजारीकरणको लागि जिल्लाकै बजार र काठमान्डौँमा बाहेक अन्यत्र जुनार पुर्याउन नसकिने किसानहरुको भनाई छ । गोलन्जोर गाउँपालिकाले बगैँचामा जुनारको मूल्य ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरेको छ ।