• असोज २६ ,सिन्धुली/सिन्धुलीमा धानको बाला कलिलैमा सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । कमलामाई नगरपालिका विभिन्न क्षेत्रमा धानको बोटमा चामल नबन्दै दुधेबाला सुक्न लागेपछि कृषक चिन्तित भएका हुन् ।


    कमलामाई नगरपालिका वडा नम्बर ४ का राजु विशंखेको १५ कठ्ठा खेतमा हाइब्रेड धान लगाउनु भएको थियो । दशै अघिनै पाक्ने आसामा लगाइएको धानबाली नपाक्दै बाला सुकेर कुहिएपछि कृषक राजुको अनुहारमा निरासा छाएको छ । “बर्षभरी खाने बाली दुख,कष्ट गरेर लगाइयो तर चामाल बन्ने बेला बालै सुकेर कुहिन लाग्यो । पहिले त केहि बोट मात्रै होला भनेर वास्तै गरिएन अहिले सबै खेतको धानबाली नै सुक्यो । मेरो मात्रै हैन छिमेकीहरुकोे खेतमा पनि धेरै,थोरै धानको बाला सुकेको छ ” उहाँले भन्नुभयो ।
    खेतमा धानको बाला सुक्न थालेपछि एतिबेला कृषक नगरपालिकाका वडाका कृषि प्राविधिक र कृषि शाखामै धाउन थालेका छन् । हरेक बर्ष विभिन्न रोगबाट कृषकहरु अन्नबाली उत्पादनमा घाटा बेहोर्छन् ।


    यता कमलामाई नगरपालिकाका कृषि शाखाका प्रमुख सरोज दाहालले भने शाखामा थुप्रै कृषकहरु धान नपाक्दै बाला सुकेको गुनासो लिएर आएपनि अव बाला केहि गर्न नसकिने बताउनुहुन्छ । धानको बाला विभिन्न कारण सुक्ने भएपनि हाल देखिएको समस्या ब्लाष्ट रोग (मरुवा) का कारण बाला सुक्न लागेको प्रमुख दाहालले बताउनु भयो । ब्लाष्ट ढुसिजन्य धेरै खतरनाक रोग हो ।
    कृषकहरुले धानबाली लगाउँदा अघिल्लो बर्षका धानको बोटको ठुटाहरु नजलाउँदा माटोमा ढुसि बसेका कारण धानका बाला सुक्ने गरेको पाइन्छ भने कतिपए बिउबाटै पनि ब्लाष्ट रोग लाग्ने सकिने कृषि शाखा प्रमुख दाहालको भनाई छ । कमलामाई नगरपालिका भित्र कृषकले कृषि शाखाबाट लगेका धानको बिउ नेपाल सरकारले नै छनोट गरेर तोकिएको बिउ बितरण भएको उहाँले बताउनु भयो । धानबाली निरक्षणको लागि नगरपालिकाले १४ वटै वडामा कृषि प्राविधिक खटाएको छ ।