युवा, महिला तथा पुरुषलाई स्वरोजगार बनाउने उद्देश्यले मरिणमा सिपमुलक तालिम दिइने
साउन ३२, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा सिपमुलक तालिम संचालन हुने भएको छ । प्लान इन्टरनेश्नल नेपाल र सिड्स नेपाल सिन्धुलीको साझेदारी तथा गाउँपालिकाको समन्वयनमा संचालित दक्ष युवा परियोजना अन्तरगत तालिम संचालन हुने भएको हो ।
इलेक्ट्रिसियन, प्लम्वर, वेटर, व्युटीसियन,, होटल रिसेप्सनिष्ट, होटल कुक, कारपेन्टर, हेयर सैलुन, अटो ड्राइभर, मार्वल टायल फिटर, लोकल पोल्ट्री फार्मिङ, सेनेटरी प्याड बनाउने लगायतका तालिम संचालन हुने मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले जानकारी दिनुभयो । तालिममा १८ देखी २४ वर्ष समुहका युवा महिला तथा पुरुषहरुले सहभागिता जनाउन पाउनेछन् ।
युवा महिला तथा पुरुषहरुलाई रोजगार एंव स्वरोजगार बनाउने उदेश्यले तालिम संचालन गर्न लागिएको अध्यक्ष मोक्तानले बताउनु भयो । मरिण गाउँपालिकामा स्थाई रुपमा बसोबास गर्ने युवा महिला तथा पुरुषहरुलाई सात दिन भित्र गाउँपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन दिन आग्रह गरिएको छ । एक व्यक्तिले ३ वटा सम्म तालिम लिन सक्ने जनाइएको छ ।