• साउन ५,सिन्धुली/सिन्धुलीमा आर्थिक बर्ष २०७९/८० मा महिला तथा बालबालिका सम्बन्धि जघन्य अपराधका घटना दर्तामा कम भएको छ । तीन बर्ष यता गत आर्थिक बर्षहरुमा भन्दा आर्थिक बर्ष २०७९/८० मा महिला तथा बालकालिका सम्बन्धि जघन्य अपराधका घटनाका विभिन्न कसुरमा मुद्धा दर्ता कम भएको पाइन्छ ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमा जबरजस्तीकरणीका मुद्धा तीन बर्षा यताकै कम भएको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्लाभर बाट जम्मा ३२ वटा मात्रै मुद्धा दर्ता भएको तथ्याङ्क छ । आर्थिक बर्ष २०७७/७८ मा जबरजस्तीकरणीका ३४ वटा र आर्थिक बर्ष २०७८/७९ मा ४६ वटा मुद्धा दर्ता भएको थियो ।
    त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा जबरजस्तीकरणी उद्योगका ७ वटा र आर्थिक बर्ष २०७८/७९ मा १५ वटा मुद्धा परेको थियो भने आर्थिक बर्ष २०७९/८० मा त्यो संख्या घटेर ५ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आर्थिक बर्ष २०७९/८० मा बहुबिवाह सम्बन्धि मुद्धा ५ वटा मात्रै परेको छ । आर्थिक बर्ष २०७७/७८ मा ११ वटा र २०७८/७९ मा १५ वटा बहुविवाहको मुद्धा परेको थियो ।
    यस्तै आर्थिक बर्ष २०७९/८० मा बालयौन दुरुपयोग, बालबिवाहको १/१ वटा मुद्धा परेको छ भने मानवबेचबिखन ओसार प्रसार, बोक्सी आरोप, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग कसुरमा यो बर्ष एउटै मुद्धा नपरेको प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभयो ।