• असार २७, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ५ राजपानीका १६ जना कृषकलाई अनुदान रकम वितरण गरिएको छ । राजदेवी कृषी तथा पशुपालन दुग्ध उत्पादक सहकारी सँस्था सिन्धुलीको आयोजनामा सँस्थाको अध्यक्ष यम कुमार देवकोटाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य सांसद लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यतामा कृषकहरुलाई अनुदान रकम वितरण गरिएको हो ।दिनमा २० लिटर भन्दा बढी दुग्ध उत्पादन गरी विक्रि गर्ने १६ जना कृषकलाई बागमती प्रदेश सरकारले भेटेरिनरी कृषी तथा पशु केन्द्र सिन्धुली मार्फत सन्चालित असल अभ्यास प्रबर्द्धन कार्यक्रम अन्तर्गत १२ लाख अनुदानका लागी सहयोग गरेको छ ।

    साथै राजदेवी कृषी तथा पशुपालन दुग्ध उत्पादक सहकारी सँस्था सिन्धुलीको १२ लाख गरी २४ लाख रकम सांसद दाहालले आज १६ जना किसानहरुलार्ई प्रति ब्यक्ति ६९ हजार ६९ हजार ५ सयका दरले अनुदान हस्तानतरण गर्नुभएको हो ।
    अनुदान रकम वितरण गर्नुहुँदै सांसद दाहालले सहकारीले अनुदानको अपेक्षा गरेर काम गर्नु भन्दा पनि कृषकलाई केही दिनसक्ने गरी काम गर्न आग्रह गर्नुभएको छ । अहिले धेरैजसो सहकारी अनुदानको निम्ति स्थापना गरेर सरकारको अनुदानको दुरुपयोग गरिएको पाइएको बताउनुभयो ।

    सरकारका सरोकारवाला निकाय खुद राम्रा सहकारी खोज्दै आउने सम्मका काम गरेर देखाउन आवश्यक रहेको सांसद दाहालको भनाई छ । राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारीले सुरुवाती चरणमै सकारात्मक गतिबिधि गरेको बताउनुहुँदै दाहालले राजनितिक दल, सरोकारवाला निकाय, अन्य संघसंस्थालाई आकर्षित गरेको भन्दै खुसि ब्यक्त गर्नुभयो ।
    राजपानीका किसानहरुले खहरे नियन्त्रण र सडक स्तर उन्नती नहुँदा आवातजावतमा कठिनाई भएको भन्ने गुनासोको सम्बोधन गर्नुहुँदै दाहालले सडकस्तर उन्नतीको लागि बजेट विनियोजन भइसकेको र खहरे नियन्त्रणको लागि पहल गरिने बताउनु भएको छ ।


    त्यस्तै कृषि विकास वैंक कृषकहरुप्रति उत्तरदायित्व नभई बिचौलियाहरुको अखडा बनिरहेको दाहालले बताउनु भयो । मुख्य कृषकहरुलाई बर्षौ धाउँदा पनि ऋण उपलब्ध नगराउने गुनासो बढिरहेको उहाँको भनाई छ । कृषकहरु ऋण पाउनबाट बन्चित छन् तर अन्य ब्यक्ति एकैजनाले ५ करोड भन्दा बढि ऋण लिएको पाइन्छ । जसका लागि आबश्यक परेको खण्डमा संसदमा नै यस्ता गतिबिधि बन्द गर्नको निम्ति आजाव उठाउने दाहालले बताउनु भयो ।


    गोठ सुधारको निम्ति राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी सँस्था सिन्धुलीका १५ जना किसानहरु विमल अधिकारी, भुवन देबकोटा, मान बहादुर थापा, गणेश बहादुर थापा, ढाल बहादुर थापा, भीम बहादुर श्रेष्ठ, फोैद बहादुर भुजेल, मन्जु श्रेष्ठ, रामु ढकाल, सार्कीमान तामाङ, ध्रुव भुजेल, बिष्णु दाहाल, सुनिता भट्टराई, रोहित कार्की र नेत्र बहादुर थापाले अनुदान प्राप्त गर्नुभएको छ ।


    बागमती प्रदेश सरकारको “गोठ देखि ओठ सम्म” भन्ने कार्यक्रमबाट सिन्धुली जिल्लाको राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारीका ३० जना कृषकमध्य छनोटमा परेएका १६ जनालाई भेटेरिनरी कृषि तथा पशु केन्द्र सिन्धुली मार्फत प्रोत्साहनको निम्ति अनुदान वितरण गरिएको भेटेरिनरी कृषि तथा पशु केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाले जानकारी दिनुभयो ।