• असार २५,सिन्धुली/लम्पी स्किन रोग फैलिएर गोरु बिरामी भएपछि किसानले रोपाई गर्न नपाएको समस्यालाई मध्यनजर गरेर सिन्धुलीको घ्याङलेख गाउँपालिकाले हाते ट्याक्टर वितरण गरेको छ ।
    मानो रोपेर मुरी उबजाउने समयमा लम्पी स्किन रोगले गाउँभरीका गोरु बिरामी हुने, मर्न लागेपछि कृषकको समस्याको सम्बोधन गदैँ घ्याङलेख गाउँपालिकाले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनु भयो ।
    आज वडा नम्बर ३ स्थित पाखापखेरा लघु उद्यमी कृषी सँस्था र मिलिजुली समुहका ३१ जना सदस्यलाई गाउँपालिकाको ८० प्रतिशत अनुदान र समुहको २० प्रतिशत लगानीमा ३ वटा हाते ट्याक्टर वितरण गरिएको उपाध्यक्ष घलानले जानकारी दिनुभयो ।
    रोपाई गर्न समस्या भएको भन्ने किसानको गुनासो आइरहेकाले यसभन्दा अगाडि पनि गाउँपालिकाले हेफरको साझेदारीमा ४ वटा हाते ट्याक्टर किसानलाई प्रदान गरेको र भोली (मंगलबार) वडा नम्बर १ अमलेमा एउटा हाते ट्याक्टर वितरण गरिने उहाँले बताउनु भयो ।
    यो बर्ष लम्पी स्किनले जिल्लाभर ४ सय भन्दा बढी पशुचौपायको मृत्यु भएको छ भने १५ हजार भन्दा बढी बिरामी परेका छन् ।