सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा सात जना घाइते, २ जनाको अबस्था गम्भिर
असार १५,सिन्धुली/सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिपि राजमार्ग अन्र्तगत सुनकोशी गाउँपालिका ५ साइटार नजिकै काठमाडौंबाट सिन्धुली तर्फ आइरहेको मधेश प्रदेश ०२–००१ ज.००४२ नम्बरको माइक्रो बस दुर्घटना भएको छ ।
माइक्रोमा सवार १० जना मध्य सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो । घाइते हुनेमा कमलामाई नगरपालिका १ सिन्धुलीका १८ वर्षीय शोभ घिमिरे, नम्बर २ का १९ वर्षीया सन्ध्या घिमिरे, गोलन्जोर गाउँपालिका ४ का ६५ वर्षीय तेजबहादुर बस्याल र वडा नम्बर १ का २१ वर्षीय रामधोज पाख्रिन रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै विराटनगर नगरपालिका १२ मोरङका ३२ वर्षीय सत्यप्रकाश ठाकुर, गौशला नगरपालिका ४ महोत्तरीका ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौं महानगरपालिका ८ का ३८ वर्षीय महेश डंगोल रहेका छन्। घाइतेहरुको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित शुभजिवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये दुई जनाको स्थिती चिन्ताजनक रहेको छ ।
गाडीका चालक कमलामाई नगरपालिका ५ का सुमन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।