• असार १५ ,सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा २० औं राष्ट्रिय धान दिवसको अबसरमा रोपाइँ महात्सवको आयोजना गरिएको छ । मरिण गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तान (प्रख्यात)को अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)को प्रमुख आथित्यतामा रोपाइँ महोत्सवको आयोजना गरिएको हो ।


    कार्यक्रममा बाेल्दै प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अथिति लेखनाथ दाहाल (राजन) ले मरिण क्षेत्रमा नमूना कृषि उत्पादन क्षेत्र बनाउन पहल गर्ने बताउनु भयो ।

    मरिण क्षेत्र खेति योग्य जमिन, प्रयाप्त सिँचाईको व्यवस्था भएको क्षेत्र भएकोले यस क्षेत्रमा सामूहिक खेति प्रणाली मार्फत नमूना कृषि उत्पादन क्षेत्र बनाउने सांसद दाहालले बताउनु भयो ।


    कार्यक्रममा सांसद दाहालले “सरकारले सय जना कृषकले सामूहीक लगानीमा कृषि गर्नेलाई एक करोड अनुदान प्रदान गर्दछ । जसमा कृषकले एक करोड लगानी गर्नु पर्ने र न्यून व्याजदरमा एक करोड ऋण उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको छ । यसकाे कार्यबिधि बन्न बाँकि छ । यसरी मरिण क्षेत्रमा कृषि क्षेत्रमा नमूना क्षेत्र निर्माण गर्न सकिन्छ” ।


    कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले मरिण क्षेत्रलाई धान उत्पादन पकेट क्षेत्र र घ्याङलेख गाउँपालिकालाई तरकारी उत्पादन पकेट क्षेत्र घोषणा गरिएको बताउनु भयो ।

    मन्त्री श्रेष्ठले मरिण क्षेत्रमा धान उत्पादनकाे राम्रो सम्भाव्यता रहेकोले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर योजना निर्माण भई रहेको समेत वताउनभयो ।