गोलञ्जोर गाउँपालिकाका वडाध्यक्ष कार्कीद्वारा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात
असार १४, सिन्धुली/गोलञ्जोर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष दौलत कार्कीले प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि गाउँसभा स्थलमा हातपात गरेका छन् ।
वडा अध्यक्ष कार्कीले प्रमुख प्रशासकीय पौडेललाई गाउँसभाबाट नीति तथा कार्यक्रम पास गर्न पालिका अध्यक्षलाई सहयोग गरेको भन्दै सभा स्थलमा नै हातपात गरेका हुन् । गत आईतवार गाउँसभामा पेश भएको आ.व. ०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्न विहिवार(आज) तेस्रो पटक गाउँसभाको आब्हान गरिएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार नीति तथा कार्यक्रम गाउँसभाको तेस्रो बैठकबाट २५ प्रतिशत सदस्यको समर्थनमा पास हुने प्रवधान अनुसार आजको गाउँसभामा छलफल भई रहेको अवस्थामा वडा अध्यक्ष कार्कीले नीति तथा कार्यक्रम पास गराउन गाउँपालिका अध्यक्षलाई सहयोग गरेको भन्दै बाहिर बोलाएर हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । हातपात गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा समेत क्षती पुगेको छ ।
प्रमुख प्रशासकीय अधिकृतले गाउँसभामा मादक पदार्थ सेवन गरेर प्रवेश गरेकोले सभा स्थल बाहिर बोलाएर सम्झाई बुझाई गरेको वडा अध्यक्ष कार्कीले बताउनु भयो । हातपात नभई मादक पदार्थ सेवन गरेर गाउँ सभामा नजान सम्झाएको वडा अध्यक्ष कार्कीको भनाई छ ।
आ.व. ०८०/०८१ को नीति तथा कार्यक्रममा वडालाई बजेट थोरै भएको भन्दै नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको असन्तुष्टि रहेको छ । उहाँहरुले १० गते देखि नै गाउँसभा बहिस्कार गर्दै आई रहेका छन् ।