सांसद दाहालको पहलमा १ सय ५१ भन्दा वढी योजना सिन्धुलीमा
असार १३, सिन्धुली/सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)ले सिन्धुलीमा १ सय ५१ वटा भन्दा बढी योजना बजेटमा समावेश गराउनु भएको छ ।
सांसद दाहालले आफ्नो निर्वाचन क्षेत्रमा राष्ट्रिय योजना आयोगको आ.व. ०८०/०८१ को योजना किताबमा बहुबर्षीय तथा साना योजना गरी करिब १ सय ५१ ओटा योजना समावेश गराउन सफल भएको हो ।
बहुबर्षीय योजना अन्र्तगत मरिण नदि नियन्त्रणको लागि जिल्लामै सबैभन्दा बढि ४५ करोड बजेट समावेश गराइएको छ । मरिण नदि नियन्त्रणका लागि करिडोरको परिकल्पना सहित ४५ करोड बजेट समावेश गराइएको सांसद दाहालले बताउनु भएको छ । जसबाट हजारौँ घरपरिवार लावान्भीत हुने लक्ष्य रहेको छ ।
त्यस्तै कोखाजोर जलाशययुक्त आयोजनाका लागि २ करोड ५७ लाख बजेट राष्ट्रिय योजना आयोगको किताबमा समावेश गराइएको दाहालले जानकारी दिनुभयो । बहुबर्षिय योजनामा परेको कोखाजोर जलाशययुक्त आयोजनाका लागि प्रत्यक बर्ष बजेट बिनियोज गरेर ५ बर्षमा योजना सम्पन्न गरिने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरबको आयोजनामा परेको सुनकोशी–मरिण डाइभर्सनबाट लिफ्ट मार्फत कमलामाई नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडामा खानेपानी ल्याउने लक्ष्यका साथ बजेट समावेश गराइएको छ । सुनकोशी–मरिण डाइभर्सन बृहत लिफ्ट खानेपानी आयोजनाद्धारा सिन्धुलीमाढीमा दिर्घकालीनका समस्या समाधानका लागि २ करोड बजेट समावेश गराइएको सांसद दाहालको भनाई छ । कमलामाई नगरपालिकाको ४,५,६ र ७ नम्बर वडामा खानेपानीको समस्यालाई दिर्घकालीन रुपमा समाधानको लक्ष्य राखिएको छ ।
घ्याङ्लेख गाउँपालिमा राष्ट्रिय योजना आयोग अन्र्तगतबाट महिला बालबालिका अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकको लागि हेरचाह गृह (सेफ हाउस) निर्माणका लागि ६० लाख बजेट समावेश गरिएको सांसद दाहालले जानकारी दिनुभयो । निर्वाचनको समयमा गरिएको प्रतिबद्धता अनुसार बजेट समावेश गराइएको उहाँले बताउनु भयो ।
कमलामाई नगरपालिका रीङ रोड र ग्वाङ खोला करिडोर तथा ढल नियन्त्रणको लागि बहुबर्षिय योजनामा समावेश गराइएको छ । त्यस्तै शहरी विकास मन्त्रालय अन्तरर्गत कमलामाई नगरपालिका वडा नं. १२ सिक्रेस्थित जिर्घाखोला पक्की पुल निर्माणको लागि १५ लाख, क्यानखोला सडक÷पुल क्यानेश्वर क्वाटर हरिहरपुरगढी गाउँपालिका २ करोड, रामटार थापाथुम्का हुँदै बन्दीपुर कोटगाउ, रातमाटा क्याम्पस चोक स्तरोन्नती सुनकोशी गाउँपालिकालाई ३५ लाख, कुशुमटार–खट्टार हुँदै पटवास गोठडाँडाँ गोब्दोल बच्छ्युटार सडक कमलामाई नगरपालिका–२ मा ३० लाख बजेट समावेश गराइएको सांसद दाहालले बताउनु भयो ।
त्यस्तै कमला मा.वि. पूर्वाधार तथा शैक्षिक सुधार कार्यक्रम कनपा–४ ढुंग्रेबास(नयाँ) लाई १ करोड ३० लाख, सिन्धुली बहुमुखि क्याम्पस पूर्वाधार तथा शैक्षिक सुधार कार्यक्रम कनपा–४ ढुंग्रेबास(नयाँ) का लागि ८० लाख, सुनकोशी गाउँपालिका अन्तर्गत एक घर एक धाराको अवधारणालाई लक्षित गरी खानेपानी योजना निर्माण (अमारे खानेपानी, दुम्जा खानेपानी, गुठबजार खानेपानी) सुनकोशी गाउँपालिका(नयाँ) लाई ५५ लाख बजेट समावेश गराउनु भएको छ ।
खानेपानी मन्त्रालय अन्तर्गत बिनियोजित हुने बजेट मार्फत नाङ्गेडाँडाँ (बृहत पम्पिङ) खानेपानी आयोजना सुनकोशीको लागि ८ करोड, मरिण खानेपानी आयोजना मरिण गाउँपालिका ६, ७ का लागि २५ लाख लगायतका योजना समावेश गराइएको छ ।