डढेलोले खाएको उजाड डाँडाबाट लेदो बग्दा बस्ती र अन्न बालीमा क्षेती

असार ९ , सिन्धुली/ सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर २ चारबस्तीमा डँडेलाेले खाएकाे उजाड डाँडाबाट बगेर आएको गेगर माटो सहितको लेदोले स्थानीयको घर,गोठ, धानको ब्याड, पशु चौपाय पुरिएको छ ।
बितिजोर कुखुरेटारको माझिगाउँ, तीनमाने, कटहरे, भालुखोलामा आज विहान बर्षा सँगै गेगर माटो सहितको लेदोले क्षति पु¥याएको हो । लेदाले सहितको पहिरोले स्थानीय ३१ जनाको घरमा आंशिक क्षति पुगेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।

माझी समुदायको बसोबास रहेको कुखुरेटारको माझिगाउँमा धेरैजसो क्षति भएको अध्यक्ष बरालले बताउनु भयो । घरगोठमा लेदो पसेर बस्नै नहुने गरी पुरेको छ भने पशुचौपाय बगाएको स्थानीयको गुनासो छ । बर्षभरी खाने अन्न रोप्ने दिन नजिकीदै गर्दा डाँडाँ, खोल्साबाट बगेर आएको गेगर सहितको पहिरोले धानको ब्याड सबै पुरेपछि किसान चिन्तित भएका छन् ।

तरकारीको टनेल समेत लेदोसहितको पहिरोले पुरिदिएको छ । किसानले पाकेको मकैबाली भित्र्याएर रोपाइँ गर्ने सबैको तयारी थियो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा पाएको धानको बीउबाट ब्याड राखेर रोपाइँ गरी मुरी फलाउने किसानको सपना सपनामै सिमीत भएको छ ।
चैत, बैशाखमा घाँस पलाउने आसामा लगाइएको डँडेलोले लगाएपछि डाँडानै बगेर बस्तीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष बरालको भनाई छ । क्षतिको विवरण संकलन गरेर गाउँपालिकाले राहात वितरणको लागि तयारी भइरहेको उहाँले बताउनुभयो ।