सुनकोशीमा भुसिया कुकुरले टोकेर ९ जना घाइते,२ जनाको अवस्था गम्भीर
असार ५,सिन्धुली/सिन्धुलीको सुनकोशी गाउँपालिकामा भुसिया कुकुरले टोकेर ९ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिकाको बोहोरेटार स्थित सडकमा हिँडिरहेका मानिसलाई भुसिया कुकुरले टोकेर घाइते भएका हुन् ।
सोमबार (हिजो) दिउँसो २ बजेको समयमा भुसिया कुकुरले मानिस र अन्य कुकुरलाई टोकेको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बाहोराले जानकारी दिनुभयो । ९ जना घाइतेहरुलाई प्रधान मेडिकल सुनकोशीमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमान्डौँ पठाइएको उहाँले बताउनु भयो ।
कुकरले टोेकेर सुनकोशी गाउँपालिका वडा नम्बर ३ स्थित ९० बर्षीय लेखनाथ दाहाल,सोही स्थानकी ४० बर्षीय लीला कुमारी भुजेल,वडा नम्बर ४ की ४६ बर्षीय सकुन्तला पुलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
वडा नम्बर ५ का दिल बहादुर बिक,रामेछाप जिल्ला घर भई वडा नम्बर २ बस्ने राम बहादुर लामा,वडा नम्बर ५ रामटार बस्ने ७७ बर्षीय बद्रि भुजेल,सोहि स्थानकी ४२ बर्षीय बिमला दाहाल,सोहि स्थानकी ५५ बर्षीय दिल्लीमाया खड्का र सोही स्थानकी ९ बर्षीय बालिका अनिसा बिशुन्के घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको टोउकोमा,हात,खुट्टा,ढाड नाक,कान,मुख ,आँखा मुनि जस्ता संबेदनशिल अंगमा कुकरले टोकेको बताउनुहुँदै सुनकोशी गाउँपालिका अध्यक्ष बोहोराले २ जनाको अबस्था गम्भिर रहेको बताउनु भयो । मानिसलाई टोक्ने भुसिया कुकुरलाई रेबिज भएको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।
भुसिया कुकरलाई स्थानियले खोजेर मारिदिएपनि अरु कुकुरलाई पनि टोकेको हुनाले अन्य कुकुरहरुको खोजिकार्य भइरहेको छ ।