• फागुन ३, सिन्धुली/सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सिन्धुली जिल्ला अस्पतालको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिन्धुली अस्पतालको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराउनु भएको हो ।
    हालले प्रतिनिधि सभाको बैठकमा भन्नुभयो – “१०० सय्या सञ्चालन गर्ने अनुमति प्राप्त प्रादेशिक अस्पताल सिन्धुलीमा ५० सैय्याको सेवा प्रवाह भइरहेको छ । तर दक्ष जनशक्ति र प्रविधिको अभावले सामान्य बिरामी पनि अस्पतालले बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । दुई जना दरबन्दी भएको कन्सल्टेन्ट जनरल फिजिसियन नभएको करिब एक वर्ष भयो । अरु पनि दरबन्दी खालि छन् । मन अमिलो पार्दै रिफर भएका बिरामीले शहरका सरकारी अस्पतालमा बेड पाउँदैनन् । आइसियु त झनै पाउँदैनन् । किनकी ग्रामिण भुगोलबाट आएका विपन्न नागरिकसँग पहुँच हुँदैन । पहुँच भएका नागरिकको मात्र अस्पताल भएको छ सरकारी अस्पताल ।”
    संसद दाहालले सरकारलाई ध्यानाकर्षण गराउदै भन्नुभयो “सरकारी अस्पतालका डाक्टरहरु नीजि अस्पताल र क्लिनिकमा मात्र भेटिने हुनाले सरकारी अस्पतालमा डाक्टरहरु पनि उपलब्ध हुन कठिनाइ छ । अनि निजी अस्पतालमा उपचार गर्न आर्थिक कारणले नसक्ने भएपछि विपन्न नागरिकहरु कि रोग शरिरमै बोकेर अवस्था छ । म सरकारी अस्पतालमा भइरहेको यो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदछु ।”