भावि मन्त्रीका रुपमा हेरिएका ३ उम्मेदवारहरु
कात्तिक २३, सिन्धुली/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछिका सरकारका मन्त्रीका रुपमा सिन्धुलीका ३ उम्मेदवारहरुलाई हेरिएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा लेखा समिति संयोजक श्याम घिमिरे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् । उहाँलाई मतदाताले भावि मन्त्रीका रुपमा हेरिरहेका छन् । यदि घिमिरेले प्रतिनिधि सभा सदस्य जितेमा देउवाले उहाँलाई मन्त्री बनाउने सम्भावना प्रवल रहेको छ । तीन पटक केन्द्रिय सदस्य भई सकेका घिमिरे नेपाली काँग्रेसका प्रभावशाली नेता हुन् ।
त्यस्तै वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ दाहाल (राजन) नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य हुनुहुन्छ । उहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का विश्वास पात्र हुनुहुन्छ । यदि प्रतिनिधि सभा सदस्य निर्वाचित भएमा र पार्टी सरकारमा रहेमा मन्त्री बन्ने सम्भावना प्रवल रहेको छ ।
पार्टीका उपमहासचिव हरिबोल गजुरललाई पछि पार्दै कार्यकर्ता र पार्टी नेतृत्वको मनजितेर उम्मेदवार बन्न सफल राजनलाई मतदाताले भावि मन्त्रीका रुपमा हेरिरहेका छन् । विगत ३ दशक देखि पार्टीको काम र विकास निर्माणको काममा क्रियाशिल राजनलाई सिन्धुलीवासीले भविष्यमा नेपाली राजनीतिमा प्रमुख भुमिका खेल्न सक्ने नेताका रुपमा हेरेका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा २(२)का साझा उम्मेदवार गंगानारायण श्रेष्ठलाई बागमति प्रदेश सरकारको मन्त्रीका रुपमा हेरिएको छ । डा. बाबुराम भट्टराईको उत्तराधिकारीका रुपमा हेरिएको श्रेष्ठलाई प्रदेश सभा सदस्य निर्वाचित भएमा बागमति प्रदेश सरकारको प्रमुख मन्त्रालयहरु मध्यको एक मन्त्री बन्ने पक्कापक्कि जस्तै छ । डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीको सह–अध्यक्ष समेत रहेका श्रेष्ठ आगामी सरकारको मन्त्री निश्चित भए पछि मात्र प्रदेश सभा सदस्यको उम्मेदवार भएको श्रोतको दावि छ ।