• भाद्र १६, सिन्धुली/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीले नेपाल पत्रकार महासंघ सिन्धलीलाई ज्ञापन पत्र बुझाएकाे छ । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्न फोनिजले ज्ञापन पत्र बुझाएको हो ।
    फोनिज सिन्धुलीका अध्यक्ष रोहितकुमार गुरुङले नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरे मार्फत केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको हो । विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको र सोहि संघ नै पत्रकार महासंघ कायम भएकोले पत्रकार महासंघको रुपमा रहेकोले संस्थापक सभापति श्रेष्ठलाई नै कायम गर्न फोनिजले माग गरेको छ ।
    २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो । नेपालका श्रमजीवी पत्रकारको नेतृत्व संस्थाका रूपमा ‘नेपाल पत्रकार महासंघ’ स्थापित छ । तत्कालीन ‘नेपाल पत्रकार संघ’ हुँदै महासंघका रूपमा विशाल आकार प्रदान गर्न धेरै अग्रज नेतृत्वले अतुलनीय योगदान गर्नुभएको छ ।
    अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको फोनिजले दावि गरेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ ।
    वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।
    “फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ । यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो बिमति छैन । तर, तथ्यहरूले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निसन्देह गलत काम हो ।” ज्ञापन पत्रमा भनिएको छ ।
    देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मान्नु उहाँको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु भएको भन्दै यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिजले माग गरेको छ ।
    “प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको तथ्य सर्वस्वीकार्य बनिसकेकोले नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन ज्ञापन पत्र मार्फत माग गरिएको छ ।