• – ध्रुवचन्द्र खड्का
    सिन्धुली

    बुढा,
    तिमीसंग ठाकठुक पर्दा मैले रिसाएर भन्ने गर्थें
    ‘तिमी भन्दा अगाडी मै मर्छु
    बरु बाजी राख्नेभा राखम् ।’
    पासा पल्टियो
    नराखेको बाजी तिमीले जित्यौ
    तिमीले छोडेर गएको बा¥ह वर्ष भयो
    सुुनेको थिएँ बा¥ह वर्षमा त खोलो नी फर्किन्छ
    तर खै ! न खोलो फर्कियो न तिमी फर्कियौ
    फर्किए त केवल तिम्रा सम्झनाहरु
    तर मलाई कुनै गुनासो छैन
    तिमी गयौ, पोल्टाभरी याद पठायौ
    तिमी छैनौ, तिम्रो जिवीत सम्झनामा म बाँचिरहेकी छु ।

    कहिलेकाहीँ छोराले झोक्किँदै भन्छ–
    ‘आमा ! तिम्रो कारणले हामीले सोजेजति प्रगति गर्न सकेनौँ,
    भनेजस्तो उन्नति गर्न नसक्नुको कारण तिमी हौँ आमा ।’
    जवाफमा म भन्छु–
    छोरा ! तिमीले भनेजस्तो ‘प्रगति’ कै शीर्षकमा केही गर्न नसके पनि
    तिम्रो पाइतालामा काँडा नविझोस् भनेर
    मैले मेरा पाँच दशक खाली खुट्टा विताएँ
    तिम्रो पेट भोको नराख्न मैले
    दिनभरी धानको बिटा बोकेर
    तिमीलाई सहरमा चामल पठाएँ
    पिठोको दालसंग पिठैको ढिँडो खाएर
    मैले तिमीलाई फर्सिको मुन्टा पठाएँ
    दिनभरी मलको डोको बोकेर थापेको पैसा
    मैले तिम्रो स्कूलमा बुझाएँ
    हो छोरा, मैले तिम्रो ‘प्रगति’को शीर्षकमा अरु केही गरिन
    तर, साँवा अक्षर चिन्ने सौभाग्य नपाएकी मैले
    यतिले मात्र तिम्रो प्रगति हुँदैन भन्ने बुझ्नै सकिन
    बुढा, अझै विश्वास छैन उसलाई
    यी सव मैले उसका लागि गरेकी हुँ ।
    तर मलाई कुनै दुखेसो छैन
    तिमी गयौ, पोल्टाभरी याद पठायौ
    तिमी छैनौ, तिम्रो जिवित सम्झनामा म बाँचिरहेकी छु ।

    माइती सम्झेर छोरी आउँछे कहिलेकाहीँ
    खुसी लाग्छ
    जव फर्किने बेलाको बचन सम्झिन्छु
    अनि भरिएको आँखा सप्कोले ढाक्छु
    भन्छे ‘आमा ! छोरी जस्तो ज्वाइँ हुँदैनन्
    अलि भाँती पुर्याएर बोल्नु है ।’
    बुढ्यौली लागेको जिन्दगीमा आफ्नै भाँती बिग्रीएको बेला
    मैले कसरी भाँती पुर्याउनु
    र ज्वाइँ छोरी उस्तै बनाउनु ?
    तर मलाई कुनै गुनासो छैन
    तिमी गयौ पोल्टाभरी याद पठायौ
    तिमी छैनौ, तिम्रो जिवीत सम्झनामा म बाँचिरहेकी छु ।

    निकै भयो छोराको अनुहारमा उज्यालो देख्दिन
    बोलीमा मधुरता सुन्दिन
    सुन्नु पनि कसरी ? जव ऊ मसंग बोलेकै छैन
    बुहारीको नजरमा खुल्लापन भेट्दिन
    साँझमा आएर कोठा पसेको छोरो
    त्यसपछि अनुहार देख्न बिहान कुर्नपर्छ मैले
    बुढा, जिन्दगी आसैआसको त्यान्द्रो रहेछ
    आस लाग्छ कहिलेकाहीँ
    छोराले कोठामा पसेर एकपटक सोध्दियोस्
    ‘आमा तिमीले भात खायौ ?’
    भन्दियोस् कहिलेकाहीँ ‘आउ आमा एकछिन् बात मारम् ।’
    म बुझ्दैछु
    विस्तारै यी आसहरु मैले मार्नपर्छ
    मेरा गाला जस्तै यी आसहरुले पनि चाउरिँदै जानुपर्छ
    तर मलाई कुनै पश्चाताप छैन
    तिमी गयौ, पोल्टाभरी याद पठायौ
    तिमी छैनौ, तिम्रो जिवीत सम्झनामा म बाँचिरहेकी छु ।

    हिजोआज देख्दैछु, भोग्दैछु
    मेरा गुनासाहरु गनगन लाग्दैछन्
    दुखेसोहरु बोझिलो बन्दैछन्
    अपेक्षाहरु सिमा नाघ्दैछन्
    मेरा रगतका टाटाहरुलाई मातृस्नेह बिझाउँदैछ
    बुढ्यौली ममता खस्रो हुँदैछ
    र मसंग मेरै रगत लतपतिएका विकसित भु्रँणहरु
    टाढा हुने दिन गनेर बसिरहेका छन्
    तर मेरो कुनै विलौना छैन
    बुढा, तिमी गयौ पोल्टाभरी याद पठायौ
    तिमी छैनौ, तिम्रो जिवीत सम्झनामा म बाँचिरहेकी छु ।