• तपाईंको चुनाव घोषणाले हुनसक्छ केही व्यक्ति वा समूहको खुसी र उत्साह बढेको होला । तर त्यो अमानवीय र अनैतिक उत्साह र खुसी हो । यो महामारीको बेला चुनाव रोज्नु पागलपन बाहेक अरु केही हुन सक्दैन ।

    नमस्कार ।
    तपाईंले घोषणा गर्नुभएको मध्यावधि चुनाव, चुनाव गराउनको लागि होईन । यो सत्तामा टिक्ने र वर्तमान व्यवस्था कमजोर पार्नको लागि हो । प्रचण्ड र माधव नेपाल समूहको राजनीतिक जीवन समाप्त पार्न हो । अमेरिका र भारत रिझाउन हो । यो न त जनताको लागि हो न त देशको लागि हो । संवैधानिक हिसाबले होस कि संसदीय मुल्य मान्यता अनुसार होस्, यो चुनाव घोषणा गलत छ । अझै कोभिड–१९ को महामारी र पीडित जनताको दृष्टिकोणबाट हेर्दा त यो सामाजिक अपराध नै हो । अक्सिजन अभावमा तड्पिरहेका जनता, भ्याक्सिन कहिले पाइएला र ज्यान जोगाउन सकिएला भनेर पर्खिरहेका जनता र लकडाउनले गर्दा व्यापार, व्यबसाय, शिक्षा, रोजगारी गुमाएर मानसिक रुपमा प्रताडित लाखौं नेपाली युवा, विद्यार्थी, ब्यापारी र गरिब (निमुखाहरु) यतिबेला लगभग ४० अर्ब खर्च हुने चुनाव होईन बरु राहत, उद्धार र सहयोग खोजिरहेका छन् ।
    प्रधानमन्त्री यू,
    शासकले गर्ने व्यवहार, बोल्ने भाषा र जस्तोसुकै क्रियाकलाप जनताले नजिकबाट नियाल्ने भएकोले यस्तो बेलामा जनता खुसी हुने, उनिहरुमा उत्साह बढ्ने र कोभिड महामारीसङ्ग जुध्न प्रेरणा मिल्ने कामकारबाहीमा सरकार लाग्नुपर्ने बेलामा उनीहरुको त्रसित मानसिकता र दुखमा अझै नुनचुक दल्ने काम गरेर सरकारले लोकतन्त्रका तीन अत्यावश्यक अवयबहरु ः उत्तरदायित्व, पारदर्शिता र योग्यतावादको सरासर हत्या गरेको छ । यस्तो महामारीको बेला ‘हामी तिमीहरूको अभिभावक हौं’ भनेर पीडित, त्रसित, रोगी र भोका नेपाली जनतालाई आफू उनीहरुको साथैमा भएको अनुभूति गराउने र सुविधा उपलब्ध गराउन अहोरात्र खट्नुपर्ने हो । कोभिड–१९ विरुद्धको भ्याक्सिन ल्याउने, अक्सिजन आपूर्ति गर्ने, अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर व्यवस्थापन गर्ने, खाद्यान्न आपूर्ति व्यवस्थापन गर्ने बारेमा जनतालाई आफ्नो हरेक गतिविधिबारे सूचित गर्ने र जनताको हरेक प्रश्नको जवाफ दिनुपर्ने बेला हो यो । कोभिड–१९ महामारी नियन्त्रण र उन्मुलन गर्न योग्य मानिसको छनौट गरि सबै दलहरूको सर्वदलीय संयन्त्र निर्माण गरेर अगाडि बढ्नु पर्ने बेलामा देशलाई विभाजन गरेर के गर्न खोजिएको हो भन्ने प्रश्न आम जनताको मन मस्तिष्कमा उब्जिएको छ । तपाईंको चुनाव घोषणाले हुनसक्छ केही व्यक्ति वा समूहको खुसी र उत्साह बढेको होला । तर त्यो अमानवीय र अनैतिक उत्साह र खुसी हो । यो महामारीको बेला चुनाव रोज्नु पागलपन बाहेक अरु केही हुन सक्दैन ।
    प्रधानमन्त्री ज्यू,
    प्रधानमन्त्री, तपाई हिम्मतिलो र साहसिक हुनुहुन्छ । तपाईंको छिटोछरितो निर्णय गर्ने क्षमता छ । तपाई मन परेको मान्छेलाई टाउकोमा बोक्ने र मन नपरेकोलाई भित्तामा पुर्याउने बानी छ । तपाईंको यतिबेला राज्य र सत्तामा पकड बलियो छ । धेरैधेरै गर्न सक्नुहुन्छ । रास्ट्रपति कार्यालय पनि अनुकूल देखिन्छ । अरु देशका प्रधानमन्त्रीले सुशासन र विकासलाई प्राथमिकतामा राख्दा तपाईंले विगत तीन वर्षमा आफ्नो सत्ता मजबुत पार्न हरसम्भव प्रयास गर्नु भयो भन्ने बुझाई छ । ठिकै हो किनभने राजनीतिमा यो सामान्य मानिन्छ । तर तपाईंको शक्ति आर्जन, हिम्मत, साहस र नेतृत्वले गर्दा जब जनता पीडित र आक्रान्त हुने साथै देशको व्यवस्था खतरामा पर्ने हो भने तपाईंको त्यो हिम्मत, साहस र नेतृत्व अब के काम ? रास्ट्रवादीको विशेषण जोडिएको तपाईंको बारेमा जनताले अब सिक्किमिकरणको मतियार र एमसिसि ल्याएर देशको सार्बभौमसत्ता र अखण्डता खतरामा पार्ने एजेन्ट भन्न थालेका छन् । हुन पनि नागरिकता सम्बन्धि निर्णय गर्नुभो रे । एमसिसि कुनै पनि हालतमा अनुमोदन गराउन यो संसदबाट नहुने भएकोले देश र जनताको आवश्यकता जे भएनि हतारमा मध्यावधि निर्वाचन गर्न लाग्नु भएको छ भन्ने सुनिएको छ । सक्नुहुन्छ भने यो नहुने चुनाव रोक्नुस नत्र सर्वदलीय सरकार गठनको लागि रास्ट्रपतिलाई सिफारिस गर्नुस् । नेपाल र नेपालीको हित यसैमा छ ।
    प्रधानमन्त्री ज्यू,
    ढुक्क हुनुहोस्, तपाईंको नेतृत्वमा काङ्ग्रेस, माओवादी केन्द्र र जसपा (उपेन्द्र यादव) चुनावमा सहभागी हुदैनन् । तपाईंको विगत एक वर्षको गतिविधि नियालेर मुल्यांकन गरेका छन् । आफूलाई जति जोगाउँदा पनि कोरोना लागेर संक्रमीत भईरहेका वा धमाधम मृत्युको शिकार बनिरहेका नेपाली जनता भिडमा लाईन लागेर तपाईंलाई मतदान गर्दैनन् । हाम्रो भोको पेट, मानसिक पीडा, महामारी, शिक्षा, स्वास्थ्य, परिवार, समाज, देशको बिग्रँदो अर्थतन्त्र र सबैभन्दा ठूलो हाम्रो जीवनको पर्वाह नगर्ने प्रधानमन्त्रीको आव्हान कुनै पनि हालतमा नमान्ने कुरो जनताको छ । माधवकुमार नेपाल समूहको असन्तुष्टिले, घोर दक्षिणपन्थी क्रियाकलापले, एमसिसि प्रेमले, जनमतको अपमानले र असंवैधानिक, अलोकतान्त्रिक र अनैतिक क्रियाकलापले चुनावमा तपाईंलाई ठूलै क्षति हुनेवाला छ । सक्नुहुन्छ भने आफ्नो पक्षमा राज्यको सबै शक्ति र सबै अंगको भरपुर प्रयोग गर्नु होला नत्र गार्हाे छ ।

    तपाईंको उही शुभचिन्तक
    सन्तोषकुमार श्रेष्ठ
    कमलामाई नगरपालिका–६, सिन्धुली