• सिन्धुली/नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७६’ मा सिन्धुलीका प्रसुन सिन्धुलीयद्धारा लिखित तथा निर्देशीत लघु चलचित्र ‘देशलाई छुने पाईला’ प्रथम भएको छ । प्रतियोगितामा उत्कृष्ट १० मध्ये ९ वटा लघु चलचित्रहरुलाई पछि पार्दै सिन्धुलीयको लघु चलचित्र सर्वाेत्कृष्ट हुन सफल भएको हो ।

    नेपाली सेनाले २०६७ सालदेखि नै बार्षिक रुपमा यो प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । साथै प्रतियोगितामा विभिन्न विषयवस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मूल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत समेत गर्दै आईरहेको छ । यसपटकको प्रतियोगितामा जम्मा ३८ वटा लघु चलचित्रहरु प्रतिष्पर्धाका लागि दर्ता भएका थिए । त्यसमध्ये स्किृप्ट र छाँयांकनको आधारमा उत्कृष्ट १० वटालाई अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको थियो । जसमा पु्रुषोतम बस्नेतको ‘रगत’ र बसन्त शर्मा अधिकारीको ‘लक्ष्य’ क्रमशः दोश्रो र तेश्रो भएका छन् । त्यस्तै अनिरुद्ध दुवाडीको ‘समर्पण’ र अनिल कुमार महर्जनको ‘गौरव’ चौथो र पाँचौ भएका छन् ।
    प्रतियोगिताको उत्कृष्ट लघु चलचित्र ‘देशलाई छुने पाईला’ ले नगद दुई लाख रुपैयाँ प्राप्त गरेको छ भने द्धितिय र तृतिय हुनेले क्रमशः एक लाख पचास हजार र एक लाख प्राप्त गरेका छन् । त्यस्तै सान्त्वना हुने दुईवटा चलचित्रले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । जंगी अड्डामा शुक्रबार आयोजित एक समारोहकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्रतियोगिताका बिजेता तथा सहभागिहरुलाई प्रमाण पत्र एवं पुरस्कार वितरण गर्नुभएको हो ।

    प्रतियोििगताको उत्कृष्ट निर्देशकमा समेत प्रसुन सिन्धुलीय घोषित हुनुभएको छ । प्रकेश सिन्धुलीयले सम्पादनमा सहयोग गर्नुभएको सोहि चलचित्रबाटै प्रसुन उत्कृष्ट निर्देशक घोषित हुनुभएको हो । वहाँले नगद रु.३५ हजार र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नुभएको छ । आफ्नो चलचित्र प्रथम हुनुमा आफ्नो मात्र नभै सिंगो टिमको सामूहिक प्रयास महत्वपूर्ण रहेको प्रसुनको भनाई छ । चलचित्र सर्वाेत्कृष्ट बनाउन सहयोग गर्ने सम्पूर्णलाई लेखक तथा निर्देशक सिन्धुलीयले धन्यवाद ज्ञापन गर्नुभएको छ । नतिजा सार्वजनिक समारोहमा रंगकर्मी, चलचित्र कलाकार तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।