• रमेशनाथ पाण्डेको ‘कूटनीति र राजनीति’ पुस्तकमा समावेश ‘सत्र सालको सेरोफेरो’ शीर्षकको संस्मरणमा २०१६ साल मंसिरमा राजा महेन्द्रको नेतृत्वमा भएको पश्चिम नेपालको भ्रमणमा एक दिन प्रधानमन्त्री विपी कोइराला लगायत सबै मन्त्री तथा सहयोगी भोक्कै सुत्नु परेको उल्लेख छ । संस्मरणमा भ्रमण टोली दाङ पुग्दा त्यहाँको स्थानीय प्रशासनले रासनको व्यवस्था गर्न नसक्दा राजाका एडिसी जनरल नरशमशेरले भ्रमणमा राजा कहिं भोकै बस्नु नपरोस भनेर आँफैले बोकेको चामल, मासको दाल, राजालाई मन पर्ने गुन्द्रुक, मस्यौरा र भटमास पकाएर छाक टारिएको उल्लेख छ । राणा शासन पछि शक्तिशाली वनेको राजसंस्थाको नेतृत्वमा रहेको भ्रमण टोलीलाई मिष्ठान्न भोजन गराउन स्थानीय प्रशासनले कुनचाहीँ कसर बाँकी राख्थ्यो होला र ? यमराजको मुखबाट खोसेर ल्याएर भए पनि व्यवस्था गर्ने प्रयत्न ग¥यो होला । तर केहि गरी पनि व्यवस्था गर्न नसकेपछि कसको के लाग्छ र ? सायद त्यस क्षेत्रमा कहिं अन्न थिएन होला । आज भन्दा ६० वर्ष पहिला, अहिले हामीले सामन्तका नाइके भनेर नागार्जुन पु¥याएको राजसंस्था भोकै पर्ने अवस्था रहेछ । आज भन्दा ६ दशक अगाडी जतिखेर राजालाई विष्णु भगवानको औतारको रुपमा लिईन्थ्यो, त्यो बेला राजाको नेतृत्वमा आएको टोलिलाई रासनको अभाव हुन्थ्यो भने जनताको के हालत थियो होला ? जनतालाई शोषण गरे, जनता संधै गरिब भए, राजा संधै धनि भए, सामन्तवादको नाइके भनेर लामो संघर्ष पश्चात त्यो सामन्तवादी राजसंस्था हटाएर जनताको शासन व्यवस्था ल्यायौं । यो ६० वर्षको अन्तरालमा जनताको मुक्तिको नाममा ठूल–ठूला संघर्षहरु भए । त्यो संघर्षमा हजारौंले बलिदानी दिए । अहिले जनताले छनौट गरेका जनप्रतिनिधिद्वारा सत्ता सञ्चालन भैरहेको छ । ६० वर्ष अघि सामन्तको नाइके भनिएको राजाको नेतृत्वमा भएको भ्रमण टोलिका सदस्य भोकै पर्थे तर अहिले जनताको प्रतिनिधिलाई मार्सि चामल चाहिन्छ । जनताको जनजीवन झन्डै–झन्डै उस्तै छ । तर हाम्रो सत्ता सञ्चालक तत्कालिन शासक भन्दा कयौं गुणा बढी भद्दा देखिदै छ । जनताको जनजीवन सुस्त गतिमा सुधांरिदै छ तर सत्ता सञ्चालक दिन दुगुणा रात चौगुणा सुविधा भोगी र सम्पन्न भईरहेको छ । एक पटक पदमा पुग्ने वित्तिकै पुस्तौलाई पुग्ने सम्पति कहाँबाट आर्जन हुन्छ ?

    यो शासन व्यवस्था ल्याउनको लागि मेरो हजुरबुबाले वि.सं.२००७ सालमा २० वर्षको उमेरमा ओखलढुङ्गाको चप्लेटीबाट हतियार बोक्नु भयो । त्यस लगत्तै बुवाले पञ्चायत व्यवस्था ढालेर बहुदलिय व्यवस्था ल्याउन र राजसंस्था हटाएर गणतन्त्र ल्याउन पनि ठूलो संघर्ष गर्नुभयो, जेलनेल भोग्नु भयो । मेरो ठूलोबुबाले छोरो गुमाउनु भयो तर मेरो परिवारको जीवनस्तर अझै उस्तै नै छ । मेरो ठूलो बुबा राष्ट्रसेवक भएर नै जीवन गुजार्नु भयो । अहिले पनि उहाँ परिवारको आवश्यकता परिपूर्ति गर्न भौतारि रहनु भएको छ । मेरो काकाले परिवारको आवश्कता पूरा गर्न नै जीवनको उर्जाशील उमेरको २७ वर्ष खाडीको मरुभूमिमा पसिना वगाउनु भयो । अहिले उमेरको ५० औं वर्षमा पनि परिवारको रोग भोक टार्न कै लागि घोट्टीरहनु भएको छ । मेरो बुबा जनताको शासन व्यवस्था ल्याउँछु भन्दै सँधैभरि कम्युनिष्ट पार्टीको झण्डा बोकेर दौडी रहनु भयो । र आज पनि दौडिरहनुभएको छ । समाज सेवामा नै तल्लिन हुनु भयो । २०४८ सालमा सदरमुकाममा १३ धुर जग्गा २५ हजारमा किन्न खोरमा भएको सबै खसी, बाख्रा, पाठा बेच्दा मेरी ठूली फूपुदिदी रोएर ३ दिन भात नखाएको कथा सुन्दा अहिले पनि मन अमिलो हुन्छ ।वि.संं. २०४९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि भएर कम्युनिष्ट पार्टीको आदर्श अनुसार जनताको सेवा गर्नुभयो । सदाबहार मन्त्री गिरिराजमणी पाख्रेलको सहपाठी मेरो बुबालाई अहिले पनि परिवारको अवश्यकता परिपूर्ति गर्न साहु गुहार्नु नै पर्छ । राजनीति, समाजसेवा र परिवारको आवश्यकता परिपूर्ति गर्न करिब ६५ लाख ऋण बोक्नु भएको छ । सबै खाले राज्य व्यवस्था परिवर्तनमा हाम्रो परिवारको सक्रियता नै रह्यो । हामी कोहि पनि निश्क्रिय छैनौं । तर पनि किन हाम्रो जिवन स्तर उक्सिन सकेन ? मेरो बुबा किन धनि हुन सकेनन् ? के बाटो बनाउन आएको बजेट देवर, भाउजुको नाममा उपभोक्ता समिति बनाएर कुम्ल्याएको विरोध गर्नु नै मेरो बुबाको गल्ति थियो ? कि स्वार्थहिन समाजसेवामा लाग्नु नै गल्ति भो ? कि कम्युनिष्ट पार्टीको कार्यकर्ता हुनु नै गल्ति भयो ? के शासन सत्ता सञ्चालक मात्र धनि हुने व्यवस्था नै समाजवाद हो ? आज वडा अध्यक्ष निर्वाचित हुन ४० लाख खर्च गरेको सामाजिक रुपमा नै स्वीकारी रहेका छन् । के सत्ता सञ्चालक हुन करोडौं खर्च गर्ने अनि अरबौं कमाउने व्यवस्था नै समाजवाद हो ? अहिलेको शासन व्यवस्था ल्याउन ठूलो संघर्ष गर्ने लाखौं जनता अहिले रोग, भोकसँग लडीरहेका छन् । त्यहि गरिब जनताको संघर्षबाट प्राप्त शासन व्यवस्थामा शासकले जनताको घर, गोठ चिन्दैन भने यो शासन व्यवस्थाको के औचित्य ?

    यसो भनि रहँदा आफ्नो शासन व्यवस्था टिकाउन वीसौं हजार जनताको हत्या गर्ने शासक ठिक भन्न खोजेको होईन । जनताद्वारा सञ्चालित जनतको शासन व्यवस्थामा पदमा पुग्न करोडौं खर्च गर्ने र अरबौं कमाउने व्यवस्थाको अन्त्य हुनु पर्छ । जनता र शासकको जीवन स्तरको वीचको रबाफिलो खाडलको अन्त्य हुनुपर्छ । अहिले मन्त्रीका परिवारका सदस्य नै वार्गेनिङमा सक्रिय भएको सार्वजनिक बहस चलिरहेको छ । त्यो पद अकुत सम्पति आर्जन गर्नका निम्ति होईन जनताको सेवाको निम्ति हो भन्ने बुझ्नु पर्छ । पदमा पुगेको व्यक्तिले गल्ति गर्दा विरोध गर्नु नहुने, विरोध गर्नेलाई निमोठि हाल्नु पर्छ भन्ने सामन्तवादी प्रवृत्ति हावी भयो, यसको अन्त्य हुनु पर्छ । गैरकानुनी ढंगबाट अकुत सम्पत्ति आर्जन गर्नेलाई कडा भन्दा कडा कार्वाही गरी सामाजिक बहिस्कार गरौं । अहिले भ्रष्टचारीले शक्तिको आडमा संरक्षण पाईरहेका छन् । सत्ता र शक्तिको आडमा नै भ्रष्टचार र दण्डहिनता मौलाईरहेको छ । सच्चा नेताले आफ्नो इज्जत कञ्चन राख्न प्रयत्न गर्नु पर्छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको घाटी निमोठ्दा पनि नेताहरुको नैतिकता माथि नै प्रश्नचिन्ह उठाएको थियो । राजाले शाही आयोग गठन गरेर नेताहरुको अकुत सम्पत्तिको छानविन गरेको थियो । नेताहरुले अकुत सम्पत्ति कमाए कै कारण शाही आयोगले जनतामा नेताहरु भ्रष्ट भनेर भ्रम छर्न पाएका थिए । फेरी पनि नेताहरुको नैतिकता कै कारण शिशु गणतन्त्रको हत्या हुन्न भन्न सकिदैन । भ्रष्टचार देश विकासको वाधक हो, भ्रष्टाचारीको ढाकछोप होईन भण्डाफोर गरौं ।