कोरोना पोजेटिभ पुरुषको सिन्धुली अस्पतालमा उपचार हुँदै, अवस्था सामान्य
सिन्धुली, जेष्ठ २२ । कमलामाई नगरपालिका १४ स्थित क्वारेन्टाईनमा रहेका एकजना पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ । कोरोना पोजेटिभ पुष्टि भएका २३ वर्षिय पुरुषलाई अहिले जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको सिन्धुली अस्पतालले जनाएको छ ।
कनपा.१४ निवासी पुरुष भारतबाट आएर जनता आधारभूत विद्यालय चन्दनपुरको क्वारेन्टाइनमा बसेका थिए । सिन्धुली अस्पताल सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार संक्रमित पुरुषको अवस्था अहिले सामान्य रहेको छ । वहाँलाई अन्य कुनै पनि प्रकारको समस्या आइनपरोस र कुनै तनाव महसुस नहुनेगरि हाइकेयरमा राखिएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।
पहिलो चरणमा पिसिआर परिक्षणका लागि प्रादेशिक अस्पताल हेटौँडा पठाइएका ५१ जना मध्य एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । सिन्धुलीमा पोजेटिभ पुष्टि भएको यो पहिलो हो । पोजेटिभ देखियो भन्दैमा नआत्तिन र धैर्यता कायम राख्दै सरसफाईमा उचित ध्यान दिन अस्पतालले आग्रह गरेको छ ।