• –सिर्जना पोखरेल
    मन्थली रामेछाप ।

    नोबेल कोरोना हुँदै
    कोभिड–१९ ले परिचीत
    यो दर्दनाक भाईरसले
    विज्ञानलाई चुनौती दिँदै
    विश्व नै तहसनहस पारिरहँदा
    भविष्य कहालीलाग्दो बनिरहेको छ
    सुन्दर सपनाहरु निमोठिँदै छन्
    नजिँकिदै छन् त केवल
    निष्पट्ट अँध्यारा रातहरु
    अनि तथ्यांकमा थपिने मृत्युहरु ।

    घरबारी बन्धकी राखेर
    डाक्टर, ईन्जिनियरको सपना कुम्लो पार्दै
    विदेशीएका छोराछोरी
    भर्खरै विवाह बन्धनमा बाँधिएर
    जीवन योजनाको फेहरिस्ता तयार पारेर
    सहजता कमाउन गएका श्रीमान्
    पटक पटकको बिन्ति बिसाइ पछि
    ठेकेदारको स्विकृतिमा भरखर काम पाएको मजदुर
    सवै सवैको सपनामा तुषारापात बनिरहेछ–पापी कोरोना ।

    अत्यास लाग्दो भूमरीमा घुमिरहेछ माया
    एक्लोपनको आभासले
    विरहका अश्रुधारा बगिरहेछन्
    थाहा छैन,
    कतिका सपना बुनिन्छन् कतिका चुँडिन्छन्
    विवशता यत्रतत्र छरिएका छन्
    करोडौँको राहत बजेट देखाएर
    ललीपपमा टार्ने शाषकहरु आँखैमा छन्
    राहत भित्रीएर बल्नुपर्ने चुलो ओभानै छ
    आफ्नै माटोमा फर्किने आशा लिएर
    सिमानामा चिच्याईरहेका नेपाली चित्कारहरु
    अझै चित्कारमै सिमित छन्
    न गर्छन् व्यवस्था, न सुन्छन् बाल आर्तनादहरु
    मात्र जोड घटाउनको फोहोरी खेलमा
    मस्त छन् मेरा शाषकहरु ।

    र बदलामा थप नाटक मञ्चन गरिन्छन्
    कहिले अध्यादेश, कहिले मन्त्री भागवण्डा
    भाईरस भन्दा खतरनाक राजनीतिक खेल खेल्न
    खेलाडीहरू रातारात झिकाईन्छन्
    लकडाउन छ – निरीह मजदुरहरूलाई
    लकडाउन छ–चुल्हो बाल्न कठिन जीवनहरुलाई
    लकडाउन छ–सामिप्यता खोज्नेहरुलाई
    सजग हुनु त राम्रो
    तर विडम्बना,
    दिन सकिएर मृत्यु भएकाले पनि
    मलामी पाउन गार्हाे छ
    के यसरी मानवता हराएर
    भाईरस परास्त हुने हो ?
    के सामिप्यता गुमाएपछि
    भाइरसको पराजय निश्चित हुने हो ?

    थाहा छैन,
    भाविपुस्ताको भविष्य
    देशको अर्थतन्त्र
    यो भूमरीको अन्त्य
    त्यसैले,
    सामाजिक दुरी कायम राखेपनि
    मानवता नहराओस्
    भाइचारा नगुमोस् ।