• माघ ६, सिन्धुली/सञ्चारकर्मी भक्त स्याङतानद्धारा लिखित कथा सङ्ग्रह ‘डम्फुको आत्मालाप’ को आज सिन्धुलीमाढीमा चर्चा गरिएको छ । जनसेवा पुस्तकालय सिन्धुलीको आयोजनामा स्याङतानको पहिलो कृति माथि जिल्लाका समालोचक, विश्लेशक, प्राध्यापक तथा रानितिज्ञहरुले पुस्तकमाथि आ—आफ्नो धारणा राख्नुभएको हो ।

    पुस्तकमाथि टिप्पणी राख्नुहुँदै प्राध्यापक तथा समालोचक भिम बिक्रम थापाले कथामा यथार्थवादी र प्रगतिवादी धारलाई पछ्याएर लेखिएको बताउनु भयो । उहाँले कृतिमा तामाङ संस्कृति र तिनका जिवनका अनुराग भेटिएको बताउनुहुँदै जनयुद्धको झल्को र भविष्यको सपना रहको बताउनु भएको छ ।

    तामाङ र नेवार जातिको भाषा र संस्कृतिलाई समेटिएको भन्नुभयो । थापाले कथामा अन्र्तराष्ट्रिय शष्द बारम्बार प्रयोग गरिएको भन्नुहुँदै त्यस्ता शब्द भन्दा पनि तामाङ शब्द प्रयोग गर्न सुझाव समेत दिनुभयो ।

    त्यस्तै विश्लेशक विश्वनाथ बरालले तामाङ समुदायको विविध पक्षलाई बुझ्ने अवसर पुस्तकमा पाइएको बताउनु भयो । तामाङ सभ्यतालाई लेखकले विम्व र चित्रलिपिमा बुझिनेगरी प्रस्तुत गरिएको बताउनुहुँदै प्रसंशा गर्नुभयो ।
    समीक्षक नवराज थिङले कथामा डम्फुको आत्मलाप मात्रै नभएर सम्पुर्ण तामाङ जातिहरुको यथार्थलाई चित्रण गरिएको महशुस भएको भन्दै खुसि व्यक्त गर्नुभयो । यस्तै राजनीतिज्ञ सुरत स्याङतानले कथामा तामाङ समुदायहरु आज पनि आफ्नो पहिचानको लागि दौडिरहेका यथार्थ चित्रण गरिएको बताउनुभयो ।
    तामाङ समुदायको विषयमा केन्द्रित रहेर लेखिएको उक्त पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो। पुस्तकमा लुङ्दर, छ्योर्तेन, न्होरला, छेदिङमो, जलजला, म्लाङगैको आपा, पेम्बाको कथा, दलुचा, डम्फुको आत्मालाप, याम्बुमा लाक्पाको संघर्ष, बुट्टे गलबन्दी शीर्षकका ११ कथा समेटिएका छन्।