ज्येष्ठ नागरिक श्रेष्ठद्वारा बाढी पीडितलाई ४८ हजार सहयोग
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका–५ निवासी कुमार श्रेष्ठले भोटेकोसी बाढी पीडितका लागि आर्थिक सहयोग गर्नुभएको छ।
श्रेष्ठले सामाजिक सुरक्षा भत्ता अन्तर्गत आफूले १२ महिनामा प्राप्त गरेको ४८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो।
उहाँले सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्न थालेको १३ महिना भएको छ। जसमध्ये १२ महिनामा प्राप्त गरेको सम्पूर्ण ४८ हजार रुपैयाँ बाढी पीडितको सहयोगका लागि प्रदान गर्नुभएको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमको भौचर श्रेष्ठले बुधबार सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो।

सामाजिक सुरक्षा भत्ताको रकम दोहोरो रूपमा प्राप्त गरिरहेका सम्बन्धी विभिन्न समाचारहरू आइरहेका बेला श्रेष्ठले आफूले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ताको रकम नै विपद्मा परेका नागरिकको सहयोगका लागि प्रदान गरेर उदाहरणीय सामाजिक कार्य गर्नुभएको छ।
भोटेकोसी बाढी पीडितका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग उपलब्ध गराउने क्रम निरन्तर जारी रहेको छ। ज्येष्ठ नागरिक श्रेष्ठले बाढी पीडितका लागि गर्नुभएको यो सहयोग अन्य ज्येष्ठ नागरिक तथा समाजका सबै वर्गका नागरिकका लागि पनि प्रेरणाको स्रोत बन्न सक्ने देखिन्छ।


