सिन्धुलीमा वन डढेलो आधाभन्दा बढी घट्यो

सिन्धुली/सिन्धुलीमा वन डढेलोका घटना पछिल्ला वर्षहरूमा रूपमा घट्दै गएको छ ।

डिभिजन वन कार्यालय सिन्धुलीको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार वन डढेलोका घटना मात्र नभई त्यसबाट प्रभावित वन क्षेत्रफलसमेत निरन्तर घटेको देखिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका वनमा ८६ पटक डढेलो लाग्दा ३ हजार ६२१ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा डढेलोका घटना घटेर ५७ पटक भएका थिए भने प्रभावित क्षेत्रफल ७७६ हेक्टरमा झरेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा भने वन डढेलोका घटना अझ घटेर २६ पटकमा सीमित भएका छन् । उक्त वर्ष डढेलोबाट १९६ हेक्टर वन क्षेत्र मात्र प्रभावित भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा वन डढेलोका घटना करिब ५४ प्रतिशतले घटेका छन् । त्यस्तै डढेलोबाट प्रभावित वन क्षेत्रफल करिब ७५ प्रतिशतले घटेको छ ।

वन डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले विभिन्न पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयले अग्निरेखा निर्माण, झाडी सफाइ, सामुदायिक वन उपभोक्ता समूह मार्फत फायर वाचर परिचालन गरेको छ भने विद्यालय स्तरमा सचेतना मूलक कार्यक्रम तथा ¥याली आयोजना गरी डढेलो नियन्त्रणमा समुदायको भूमिका र जिम्मेवारीबारे जानकारी गराउने कामसमेत हुँदै आएको छ ।

फागुन महिना देखि जेठसम्म वन डढेलोको जोखिम बढी हुने भएकाले सोही अवधिलाई लक्षित गरी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयका कार्यालय प्रमुख रामकुमार भण्डारीले जानकारी दिनुभयो । उहाँको अनुसार वन क्षेत्रमा डढेलो फैलिन नदिन झाडी सफाइ, अग्निरेखा निर्माण तथा पोखरी निर्माण लगायतका कामलाई प्राथमिकता दिइएको छ ।

वन डढेलो नियन्त्रणमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका पनि महत्वपूर्ण देखिएको छ । विभिन्न सामुदायिक वनमा फायर वाचर परिचालन गरी नियमित निगरानी गर्ने तथा डढेलो देखिए तत्काल नियन्त्रणमा लिने व्यवस्था गरिएको छ । स्थानीय समुदायलाई डढेलोबाट हुने क्षति र त्यसको रोकथामका उपायबारे समेत सचेत गराउने काम भइरहेको कार्यालयले जनाएको छ ।

वन डढेलो नियन्त्रण कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने भएकाले वन कार्यालय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय र स्थानीय समुदाय बीचको समन्वयलाई महत्वपूर्ण मानिएको छ । सबै पक्षको सक्रिय सहभागिता र पूर्वतयारीले पछिल्ला वर्षमा डढेलोका घटना तथा क्षति घटाउन सहयोग पुगेको छ ।

सिन्धुलीमा कुल २ लाख ४९ हजार १ सय हेक्टर क्षेत्रफलमध्ये १ लाख ६० हजार १९१ हेक्टर वन क्षेत्र रहेको छ । जिल्लामा ८ वटा सव डिभिजन वन कार्यालय र ३१८ वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । सामुदायिक वनको कुल क्षेत्रफल ६४ हजार २१३.७५ हेक्टर रहेको छ ।

पछिल्ला तीन वर्षको तथ्याङ्कले वन डढेलो नियन्त्रणका लागि गरिएका पूर्वतयारी, समुदाय परिचालन र सचेतना मूलक गतिविधि प्रभावकारी बन्दै गएको देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *