बाढीपीडितका लागि सुनकोशीका शिक्षकले जुटाए १३ लाख
सिन्धुली/रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सिन्धुलीको सुनकोशी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले १३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका छन् ।
गाउँपालिकाको अनुसार संकलित रकम मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
कुल रकममध्ये गाउँपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट ४ लाख १७ हजार १७२ रुपैयाँ र गाउँपालिकाभित्रका विद्यालयका शिक्षक-शिक्षिकाबाट ९ लाख १६ हजार १६१ रुपैयाँ संकलन भएको छ ।

बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ ।
गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषमा यस अघि रहेको २ लाख रुपैयाँ पनि राहत प्रयोजनका लागि छुट्टै राखेको जनाएको छ । अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कार्यपालिका सदस्यहरूले समेत आफ्नो पारिश्रमिकबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्न गरिएको अभियानमा सहभागी शिक्षक, कर्मचारी तथा सरोकारवालाप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ । साथै विपद्को घडीमा सबैलाई एकताबद्ध भएर प्रभावित नागरिकको साथमा उभिन आग्रह गरेको छ ।


