बाढीपीडितका नाममा मनलाग्दी राहत नउठाउन सिन्धुली प्रशासनको आग्रह
सिन्धुली/बाढीपीडितका नाममा जिल्लाका विभिन्न स्थानमा स्वेच्छिक तथा जथाभावी रूपमा राहत सामग्री संकलन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले त्यसलाई रोक्न आग्रह गरेको छ ।
राहतका नाममा हुने अव्यवस्थित तथा दोहोरो संकलन रोक्दै वास्तविक पीडितसम्म आवश्यक सामग्री प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रशासनले जानकारी दिएको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायत नदी किनारका क्षेत्रमा ठूलो आर्थिक, भौतिक तथा मानवीय क्षति पु¥याएपछि पीडित तथा प्रभावित नागरिकका लागि विभिन्न क्षेत्रबाट राहत जुटाउने क्रम बढेको छ ।
यही क्रममा राहत सामग्री आफुखुसी संकलन भइरहेको जानकारी प्राप्त भएपछि प्रशासनले समन्वयबिना राहत संकलन नगर्न सम्बन्धित व्यक्ति, संघसंस्था तथा समूहलाई अनुरोध गरेको हो ।

प्रशासनले राहत उपलब्ध गराउन इच्छुक व्यक्ति तथा संघसंस्थाले आफूले उपलब्ध गराउन सक्ने राहत सामग्रीको स्पष्ट विवरण सहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने जनाएको छ ।
प्रशासनको जानकारीपछि आवश्यकता पहिचान गरी मात्र राहत सामग्री संकलन गर्न र बाढी प्रभावित क्षेत्रमा स्थानीय प्रशासनसँग समन्वय गरेर वितरण गर्न आग्रह गरिएको छ । यसबाट वास्तविक पीडितसम्म आवश्यकताअनुसार राहत पु¥याउन सहज हुने प्रशासनको भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनामा उल्लेख गरिएका राहत सामग्रीलाई आधार मानेर राहत संकलन तथा वितरण गर्न समेत प्रशासनले आग्रह गरेको छ ।


