सिफारिसको भीडमा हराउँदैछन् वास्तविक गरिब, सामाजिक सेवा इकाइमा २ सय ४४ जनाले लिए सेवा

सिन्धुली/आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यले सिन्धुली अस्पतालमा सञ्चालन गरीएको सामाजिक सेवा इकाइबाट आर्थिक वर्ष २०८२/८३ मा २ सय ४४ जनाले निःशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा लिएका छन् ।

तर, सेवा लिन आउने प्रवृत्तिले भने वास्तविक रूपमा सहयोग आवश्यक पर्ने नागरिकसम्म सेवा पुग्न अझै चुनौती रहेको देखाएको छ ।

सामाजिक सेवा इकाइका सहजकर्ता सकुन्तला रिसालका अनुसार सेवा लिन आउने अधिकांशले सोधपुछ तथा वडा कार्यालयको सिफारिस लिएर आउने गरेका छन् । सिफारिसका आधारमा सेवा लिन आउनेको संख्या बढे पनि साँच्चिकै आर्थिक रूपमा कमजोर तथा असहाय नागरिकले भने सामाजिक सेवा इकाइबाट उपलब्ध हुने सुविधाबारे पर्याप्त जानकारी नपाएको उहाँको भनाइ छ ।

“सिफारिस लिएर आउने धेरै हुनुहुन्छ, तर साँच्चिकै गरिब र असहाय बिरामीले यो सेवा पाएका छैनन्,” रिसालले भन्नुभयो, “वास्तविक रूपमा सेवा आवश्यक पर्ने बिरामीले सामाजिक सेवा इकाइमा सम्पर्क गर्नुपर्छ ।”

उहाँका अनुसार सामाजिक सेवा इकाइले बिरामीको अवस्था र आर्थिक स्थिति हेरेर उपचार खर्चमा सहयोग गर्ने गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै इकाइमार्फत १० लाख ६५ हजार ३ सय ६७ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको छ ।

एक वर्षको अवधिमा सेवा लिएका २ सय ४४ जनामध्ये १ सय २१ जना अस्पतालमा भर्ना भएका थिए । सेवा लिने मध्ये १ सय १२ जना जनजाति, ६२ जना दलित, ५४ जना बाहुन,क्षेत्री, १५ जना मधेसी र १ जना मुस्लिम समुदायका रहेका छन् ।

त्यस्तै १२ जना अन्य जिल्लाबाट आएका र ६४ जना गाउँबाट आएका बिरामीले समेत सामाजिक सेवा इकाइबाट सेवा लिएका छन् । ५६ जना आकस्मिक बिरामी र ६७ जना बहिरा बिरामीले पनि इकाइबाट सेवा पाएका छन् ।

यस अवधिमा ४२ जना बिरामीलाई भने सिन्धुली अस्पतालबाट अन्य स्वास्थ्य संस्थामा उपचारका लागि रिफर गरिएको रिसालले जानकारी दिनुभयो । अस्पतालमा उपचार सम्भव नभएका वा थप विशेषज्ञ सेवा आवश्यक पर्ने बिरामीलाई अवस्था हेरेर अन्यत्र रिफर गरिएको उहाँले बताउनुभयो ।

सामाजिक सेवा इकाइबाट सेवा लिनेमा कमलामाई नगरपालिका, मरिण गाउँपालिका र तीनपाटन गाउँपालिकाका नागरिकको संख्या बढी रहेको रिसालले बताउनुभयो । यी पालिकाबाट उपचारका लागि सिन्धुली अस्पताल आउने नागरिकले सामाजिक सेवा इकाइको सेवा लिने गरेको उहाँको भनाइ छ ।

रिसालले सामाजिक सेवा इकाइको सेवा विस्तार तथा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । पालिकाहरूले इकाइलाई आवश्यक सहयोग गर्नुका साथै आफ्ना नागरिकलाई यसबारे जानकारी गराउन सके आगामी दिनमा अझ धेरै विपन्न तथा असहाय बिरामीलाई उपचारमा सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।

“पालिकाहरूले सामाजिक सेवा इकाइलाई आवश्यक सहयोग र समन्वय गरिदिए आगामी दिनमा अझ धेरै बिरामीलाई उपचारमा सहयोग गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

स्थानीय तहले वडास्तरसम्म सामाजिक सेवा इकाइबाट पाइने सुविधाबारे जानकारी पु¥याउन सके वास्तविक लाभग्राही पहिचान गर्न र सेवा लिन अस्पतालसम्म ल्याउन सहज हुने उहाँको भनाइ छ ।

सामाजिक सेवा इकाइबाट सेवा लिनेको संख्या पछिल्ला वर्षमा उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १ सय ९० जनाले सेवा लिएकोमा २०८०/८१ मा ३ सय ३२ र २०८१/८२ मा ३ सय ९ जनाले सेवा लिएका थिए। आर्थिक वर्ष २०८२/८३ मा भने २ सय ४४ जनाले सेवा लिएका छन् ।


सामाजिक सेवा इकाइले गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित तथा बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट पीडित, शहीद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, अभिभावक नभएका दुर्घटनाका आकस्मिक बिरामी तथा सीमान्तकृत र लोपोन्मुख आदिवासी जनजातिलाई निःशुल्क वा सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

सेवा लिन आउने लक्षित समूहले आफू सम्बन्धित समूहमा परेको प्रमाणित हुने कागजात अनिवार्य रूपमा ल्याउनुपर्ने हुन्छ । गरीबका लागि गरीब परिचयपत्र, ज्येष्ठ नागरिकका लागि परिचयपत्र, महिला स्वास्थ्य स्वयंसेविकाका लागि परिचयपत्र र अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गता परिचयपत्र आवश्यक पर्ने इकाइले जनाएको छ । अन्य अवस्थामा आफ्नो परिचय खुल्ने तथा लक्षित समूहसँग सम्बन्धित कागजात पेश गर्नुपर्ने व्यवस्था छ ।

सामाजिक सेवा इकाइले लक्षित वर्गका नागरिकलाई उपचारमा आर्थिक भार कम गर्न महत्वपूर्ण सहयोग गर्दै आए पनि सेवाको पहुँच र जानकारीको अभाव अझै समस्या बनेको छ । आर्थिक अवस्था कमजोर भएका कतिपय नागरिक उपचार खर्चको डरले अस्पतालसम्म नआउने र आए पनि सामाजिक सेवा इकाइबाट पाइने सुविधाबारे जानकारी नहुँदा सेवा लिन नसक्ने अवस्था रहेको रिसाल बताउनुहुन्छ ।

उहाँले साँच्चिकै आर्थिक अवस्था कमजोर भएका, असहाय तथा उपचार खर्च धान्न नसक्ने बिरामीलाई सिन्धुली अस्पतालको कोठा नम्बर ११६ मा सम्पर्क गरी सामाजिक सेवा इकाइको सेवा लिन आग्रह गर्नुभएको छ ।

“सेवा आवश्यक पर्ने वास्तविक गरिब र असहाय बिरामीले नहिच्किचाई सम्पर्क गर्नुहोस्,” रिसालले आग्रह गर्नुभयो, “तर अनावश्यक रूपमा सिफारिस लिएर सेवा लिन आउने प्रवृत्ति रोक्न आवश्यक छ ।”

सामाजिक सेवा इकाइको सेवा लक्षित वर्गसम्म प्रभावकारी रूपमा पु¥याउन अस्पतालसँगै स्थानीय तह र समुदायस्तरबाट समेत जनचेतना बढाउनुपर्ने देखिन्छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचार खर्चकै कारण अस्पताल आउनबाट रोक्ने अवस्था अन्त्य गर्न स्थानीय तह र अस्पतालबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।

वास्तविक रूपमा उपचार खर्च धान्न नसक्ने नागरिकले समयमै सामाजिक सेवा इकाइको सेवा पाउन सके उपचारबाट वञ्चित हुनुपर्ने अवस्था कम हुनुका साथै कार्यक्रमको उद्देश्य समेत थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *