सिन्धुलीमा धान रोपाइँ अन्तिम चरणमा,तेस्रो सातासम्म सकिने
सिन्धुली/सिन्धुलीमा साउनको दोस्रो सातासम्म ९४.८० प्रतिशत धान रोपाइँ सकिएको छ ।
कृषि विकास कार्यालय सिन्धुलीको अनुसार समयमै पानी पर्नुका साथै गत वर्षजस्तो रासायनिक मलको अभाव नहुँदा यस वर्ष साउनको दोस्रो सातासम्म ९४.८० प्रतिशत धान रोपाइँ सकिएको हो ।गत वर्ष यही अवधिसम्म जिल्लामा लगभग ८० प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।
कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठले अनुसार जिल्लाको भौगोलिक अवस्था र सिँचाइ सुविधाको आधारमा विभिन्न स्थानमा रोपाइँको गति फरक–फरक हुने भएकाले साउनको तेस्रो सातासम्म बाँकी रहेको करिब ५ प्रतिशत क्षेत्रमा पनि रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ । गत वर्ष जिल्लामा ९९ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष शतप्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको उहाँले सिन्धुली खरलाई जानकारी दिनुभयो ।
साउनको दोस्रो सातासम्म कमलामाई नगरपालिकामा ८९ प्रतिशत, दुधौली नगरपालिकामा १०० प्रतिशत, सुनकोशी गाउँपालिकामा ९२ प्रतिशत, घ्याङ्लेख गाउँपालिकामा १०० प्रतिशत, फिक्कल गाउँपालिकामा ९३ प्रतिशत, तीनपाटन गाउँपालिकामा १०० प्रतिशत, मरिण गाउँपालिकामा ९४ प्रतिशत, हरिहरपुरगढी गाउँपालिकामा ८८ प्रतिशत र गोलन्जोर गाउँपालिकामा १०० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठले जानकारी दिनुभयो ।

हालसम्म जिल्लाको चार स्थानीय तहहरु दुधौली नगरपालिका, घ्याङ्लेख गाउँपालिका ,गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ । हरिहरपुरगढी गाउँपालिकामा भने हालसम्म ८८ प्रतिशत मात्रै रोपाइँ भएको छ । त्यहाँ पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीमा निर्भर रहनुपर्ने भएकाले रोपाइँमा केही ढिलो भएको कार्यालयले जानकारी दिएको छ । मौसमले साथ दिएमा साउनको अन्तिम सातासम्म हरिहरपुरगढीमा पनि शतप्रतिशत रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।
कृषि विकास कार्यालयको अनुसार जिल्लाको नौ स्थानीय तहहरुमध्ये सबैभन्दा बढी धान उत्पादन दुधौली नगरपालिकामा हुन्छ । उत्पादनको हिसाबले गोलन्जोर गाउँपालिकामा भने सबैभन्दा कम धान उत्पादन हुने गरेको छ । जिल्लामा कुल ६९ हजार २५३ हेक्टर खेतीयोग्य जमिन रहेकामा ११ हजार १८८ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिन्छ ।
धान उत्पादनको दृष्टिले दुधौली, तीनपाटन र मरिण क्षेत्रलाई जिल्लाका उर्वर क्षेत्र मानिन्छ । जिल्लामा मकवानपुर–१, रामधान, सावित्री, कतर्नी तथा विभिन्न हाइब्रिड जातका धान खेती गरिन्छ ।
सिँचाइ सुविधा भएका क्षेत्रमा धान रोपाइँ छिट्टै सम्पन्न हुने भए पनि आकाशे पानीमा निर्भर स्थानमा रोपाइँ ढिलो हुने गरेको छ। यद्यपि यस वर्ष मौसम अनुकूल रहेकाले साउनको तेस्रो सातासम्म जिल्लाभर धान रोपाइँ शतप्रतिशत सम्पन्न हुने कृषि विकास कार्यालयले जनाकारी दिएको छ ।



