मुलुकमा अस्थिरता मच्चाउनेका विरुद्ध एमालेको जागरण सभा

सिन्धुली/लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्दै अराजकता मच्चाउने राजावादीहरुको गतिविधिलाई परास्त गर्न नेकपा एमाले सिन्धुलीले जागरण सभा गरेको छ ।

मूलुकमा अस्थिरता र अराजकता मच्चाउन राजावादीहरु सलवलाइरहेकाबेला संविधानको रक्षा गर्दै समुन्नत र सुदृढ गणतन्त्रका लागि नेकपा एमाले सिन्धुलीले जागरणसभा गरेको हो । जागरण सभा अन्तर्गत गणतन्त्रको पक्षमा लेखिएका विभिन्न नारा सहित र्याली गरिएको थियो । प्लेकार्ड बोकेर कमलामाई ६ बुद्धनगरबाट सुरु भएको र्याली एमाले पार्टी कार्यालय पुगेर बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा कोणसभामा परिणत भएको थियो ।

जागरण सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले नेकपा एमाले सँधै लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताउँदै अझै पनि गणतन्त्रको विकल्पमा एमाले नरहेको धारणा राख्नुभयो । एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मनोज जंग थापाले नेपाली जनता झुटको पछि लाग्न नहुने बताउँदै राजालाई धर्म र जातीको केन्द्रको रुपमा हेर्न नहुने बताउनुभयो । साथै थापाले वर्तमान व्यवस्थाप्रति निराश हुनुपर्ने अवस्था नभएको धारणा राख्नभयो । त्यस्तै एमालेका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले संविधान भन्दा माथि राजा नभएको बताउँदै धेरैको बलिदानीबाट प्राप्त गणतन्त्र उल्ट्याउने दिवा सपना नदेख्न राजावादीलाई चेतावनी दिनुभएको छ ।

कोणसभालाई केन्द्रीय सदस्यहरु उमा कोइराला, विषमलाल अधिकारी, उपाध्यक्ष कर्ण घिसिङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताहरुले जनताको लागि ल्याइएको गणतन्त्रको खिलाफमा जाने जोकोहिले पनि संविधानलाई ध्यानमा राख्नुपर्ने बताएका थिए । साथै उनिहरुले गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र मात्र हुनसक्ने त्यो भन्दा बाहेक कुनै तन्त्रको जरुरी नरहेको धारणा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *