गोलन्जोरमा पालिकास्तरीय अध्यक्षकप फुटवल प्रतियोगिता हुने

सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।
गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता यही चैत्र २८ गते देखि ३० गते सम्म संचालन हुने पालिकाले मंगलबार एक सूचना मार्फत जानकारी गराएको छ । फिफाको नियम अनुसार खेल खेलाईने सूचनामा उल्लेख छ । खेल नकआउट चरणमा खेलाइने छ ।
खेलाडी दर्ता गर्दा अनिवार्य नागरीताको फोटोकपी सहित पासपोर्ट साइजको फोटो २ प्रति उपलब्ध गराउनु पर्ने र खेलाडी पालिका भित्रको सम्बन्धीत वडाको हुनुपर्ने नियम राखिएको छ । साथै नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि र अन्य ठाउँबाट आएको भएमा बसाइसराइँको कागजात हुनुपर्ने छ । प्रतियोगितामा रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने, नियम विपरीत टिमले खेलेमा, खेलाडि गलत खेलाएको आशंका लागेमा, उजुरी गर्नु परेमा बिपक्ष टिमले प्रमाण सहित खेल सकिएको १ घण्टा भित्रमा लिखित उजुरी दिनुपर्ने पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरीएको छ ।
साथै उजुरी पोटेक्स प्रमाणित भएमा खेल जिते पनि सो टिम स्वतः आउट हुनेछ । खेलाडि घाइते भएमा प्राथमिक उपचार बाहेक अन्य उपचार गर्नुपरेमा आयोजक टिम जवाफदेही हुनेछैन । प्रतियोगितामा खेलाडि १८ जना र टिम म्यानेजर २ जना सहित २० जना सहभागि हुनपाउनेछन् । त्यस्तै प्रत्येक वडाबाट १ टिम मात्र सहभाागि हुन पाउने छन् । सम्वन्धित वडाका खेलाडिहरुले वडा खुल्ने जर्सी लगाउनुपर्ने छ ।
यहि चैत्र २५ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । टिम दर्ताको लागि गोलन्जोर खेलकुद विकास समितिको सचिवालयमा आवश्यक कागजात सहित प्रक्रिया पूरा गरी दर्ता गराउनु पर्नेछ । २५ गते दिउँसो १ बजे खेलको टाइसीट निकालिने छ र उक्त दिन नै टिम म्यानेजरले सम्पूर्ण कागजात लिएर आउनुपर्ने छ । प्रतियोगितामा प्रथम हुनेलाई ६२,५०० रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई ३७,५०० रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई २५००० रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसका साथै उत्कृष्ट एक खेलाडी, गोलरक्षक, उत्कृष्ट गोल्कर्तालाई नगद ३००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।