अन्तरक्रियासहित मनाइयो हरिहरपुरगढीमा जनयुद्ध दिवस

सिन्धुली/नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिका कमिटीले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरी ३०औं जनयुद्ध दिवस मनाएको छ । झनझनेमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
सो क्रममा उहाँले जनयुद्धको ऐतिहासिक सन्दर्भ र औचित्यबारे प्रकाश पार्नुभयो । २०५२ साल फागुन १ गतेबाट सुरु भई २०६२ सालमा अन्त्य भएको १० वर्षे जनयुद्धले सामन्तहरुको प्रतिनिधि संस्था राजसंस्थालाई नष्ट गरी उत्पीडित जाति वर्गको प्रतिनिधित्व हुने व्यवस्था ल्याउन सफल भएको बताउनुभयो । ‘राजसंस्थाको अन्त्य नगरी जनतालाई राज्यसत्तामा स्थापित सकिँदैन, सत्ताबाहेक सबै भ्रम हो भन्ने माओको विचारलाई आत्मसात् गर्दै कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा जनयुद्ध सुरु गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘हामी स्पष्ट राजनीतिक विचारात्मक सोचसहित युद्धमा गएका थियौं ।’
सांसद दाहालले त्यही जनयुद्धको जगमा आजको परिवर्तन सम्भव भएको प्रस्ट पार्नुभयो । जनयुद्धले लिएको उद्देश्यअनुसार नै दलित, जनजाति, उत्पीडित जाति, समुदाय, पिछडिएका वर्गलगायतको प्रतिनिधित्व अहिले राज्यसत्तामा स्थापित भएको उहाँको दाबी रह्यो ।
अर्को प्रसंगमा उहाँले वर्तमान सरकार कमिसनतन्त्र र भ्रष्टाचारमा लीप्त भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका लागि नभई ठग, भ्रष्ट, भूमाफिया, बिचौलियाको फाइदाका लागि काम गरिरहेको आरोपसमेत सांसद दाहालले लगाउनुभयो । ‘लाखमा होइन, अर्बौं–अर्बौंको कमसिनमा चलेको छ सरकार । भूमाफिया र बिचौलियाको लाभका लागि अध्यादेश नै ल्यायो,’ उहाँले भन्नुभयो, ‘ओलीजी तपाईं जनताको प्रधानमन्त्री होइन । तपाईं त जनविरुद्धको प्रधानमन्त्री हो । सामन्त, जमिन्दार, नोकरशाहको प्रधानमन्त्री हो । त्यसैले हामी प्रधानमन्त्री मान्दैनौं । जनताको काम गर्नुस् अनि मान्छौं ।’
माओवादी नेतृत्वको सरकारले भ्रष्टहरुलाई जेल पठाइएको, तराईका मिटरब्याज पीडितहरुलाई न्याय दिलाइएको, भूमिहीनलाई कानुन बनाएर जग्गा उपलब्ध गराइएकोलगायत सकारात्मक काम गरेर जनतामा आशा जगाउने काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
सांसद दाहालले माओवादी नेता कार्यकर्तालाई कांग्रेस–एमालेले जसरी नराम्रो काम नगर्न पनि निर्देशन दिनुभयो । हजारौंको बलिदान, त्याग र संघर्षबाट बनेको पार्टी माओवादी केन्द्रको सिद्धान्तअनुरुप जनहितका काममा निःस्वार्थ भएर लाग्न उहाँको आग्रह थियो ।
सोही कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले जनयुद्ध दिवसलाई संस्थागत गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले जनयुद्धको ऐतिहासिक पक्षलाई समेटेर संस्थागत नगरेसम्म पार्टीभित्रको फुट नरोकिने बताउनुभयो । ‘२०५२ फागुन १ गते सुरु गरेको जनयुद्धकै कारण आज देशमा क्रान्तिकारी संविधान स्थापित भएको छ, संघीयता स्थापित भएको छ, समावेशिता, राष्ट्रियता स्थापित भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले जनयुद्धलाई बिर्सिने काम गर्नु हुँदैन । यसलाई संस्थागत विकास गर्नुपर्छ ।’
जनयुद्धको ऐतिहासिकतालाई बचाइराख्न यससम्बन्धी ऐतिहासिक सामग्रीहरु हरिहरपुरगढीले इतिहासको रुपमा संग्रहित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीका अध्यक्ष अजित ठाडा मगरको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य बाबुराम राई,नेकपाका केन्द्रिय सदस्य शसि राई लगायतको उपस्थिती रहेको थियो ।
यसैकार्यक्रम मार्फत नेकपा एमाले,काङ्ग्रेस तथा रास्ववा परित्याग गरी १५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।