सिन्धुलीको पाँच ओटा पालिका लगातार चार दिन विदा
सिन्धुली/तामाङ समुदायको मुख्य पर्व ल्होसारको अवसरमा जिल्लाको पाँच पालिकाले थप एक दिन सार्वजनिक बिदा दिएका छन् । स्थानीय सरकारले स्थानीय विदा दिन पाउने अधिकारको प्रयोग गर्दै सिन्धुलीको पाँच ओटा पालिकाले सोनाम ल्होसारको भोलिपल्ट शुक्रवार पनि स्थानीय विदा दिन लागेको हो ।
तामाङ समुदायको मुख्य पर्व २८६१ औँ सोनाम ल्होसारको अवसरमा जिल्लाको कमलामाई नगपालिका, सुनकोशी गाउँपालिका, हरीहरपूगढी गाउँपालिका, घ्याङलेख गाउँपालिका र मरिण गाउँपालिकाले १८ गते स्थानीय विदा दिने निर्णय गरेको छ । १६ गते सहिद दिवस सार्वजनिक विदा, १७ गते सोनाम ल्होसार सार्वजनिक विदा, १८ गते स्थानीय विदा र १९ गते शनिवार विदा भएसँग यी पाँच पालिका चार दिन लगातार विदा भएको छ ।
कमलामाई नगरपालिकाले सूचना प्रकाशन गर्दै माघ १८ गते नगरपालिकाको कार्यालय, मातहतका कार्यालयहरु र शैक्षिण संस्थाहरुमा सार्वजनिक बिदा दिने जानकारी दिएको छ । सुनकोशी गाउँपालिकाले पनि आईतार सूचना प्रकाशन गरेर गाउँपालिकामा तामाङ समुदायको बाहुल्य बसोबास रहेकाले माघ ९ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार माघ १८ गते स्थानीय बिदा दिइएको जनाएको छ ।
हरिहरपुरगढी गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै माघ ९ गते बसेको गाउँकार्यपालिका बैठकको निर्णय अनुसार माघ १८ गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, शिक्षक संस्थाहरु, र अन्य सार्वजनिक संघसंस्थामा बिदा दिइएको जानकारी दिएको छ ।
यस्तै घ्याङलेख गाउँपालिकाले माघ ६ गते बसेको निर्णय अनुसार पालिकाको भित्रका शैक्षिक संस्था, र सार्वजनिक संघसस्थालाई १८ गते बिदा दिने सूचनामा उल्लेख गरिएको छ । मरिण गाउँपालिकाको माघ १५ गते बसेको कार्यपालिकाको निर्णय अनुसार पालिका मातहतका कार्यालय शैक्षिक संस्था र सार्वजनिक संघसस्थालाई १८ गते बिदा दिने सूचनामा उल्लेख गरिएको छ ।