फोनिज सिन्धुलीको अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ्ग दोहोरिए
सिन्धुली/रोहित गुरुङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुलीको साताैँ साधारण सभा तथा पाचौँ जिल्ला अधिवेशन शनिवार सम्पन्न भाएको छ ।
रोहित कुमार गुरुङ्को अध्यक्षता तथा बागमती प्रदेशका पूर्व कानून मन्त्री तथा बागमती प्रदेश सांसद गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको हो । अधिवेशनले अध्यक्षमा पुनः रोहित कुमार गुरुङलाई सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा कमल सरला सुनुवार चयन हुनुभएको छ । त्यस्तै सचिवमा कल्पना भुजेल, सहसचिवमा संगिता डिम्दोङ र कोषाध्यक्षमा जिवी श्रेष्ठ चयन भएका छन् । फोनिजको सदस्यहरुमा गोमा श्रेष्ठ, बिमला रजन मगर, पुनम सुनुवार, गुण माया मगर, आदित्य लामा, राजकुमार श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ र नानुका तामाङ रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रदेश सांसद गंगानारायण श्रेष्ठले विज्ञान र प्रविधिको विकासले हरेक नागरिकलाई पत्रकार बनाएको बताउनुभयो । वर्तमान अवस्थामा पत्रकारिता गर्ने कुरा सजिलो नभएको वहाँको भनाइ छ । अहिले पत्रकारहरुले पाइला पाइलामा सजग भएर कलम चलाउनुपर्ने अवस्था रहेको भन्दै सांसद श्रेष्ठले असजिलोका बाबजुद गरिएको स्वच्छ र निष्पक्ष पत्रकारिताले स्थिरता पाउने धारणा राख्नुभयो ।
त्यस्तैगरी कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्क्ष विमला पाण्डेले पत्रकारितामा डटेर लाग्ने र लेखेरै पत्रकारिता गर्नेहरुको संरक्षणको जिम्मा पत्रकार महासंघले लिनुपर्ने बताउनुभयो । फोनिजको अधिवेशनमा प्रेस चौतारि नेपाल सिन्धुलीका अध्यक्ष वाइपि विनय, प्रेस युनियनका अध्यक्ष बरुण लामिछाने, पत्रकार महासंघका सचिव नविनबाबु अधिकारी, फोनिज सिन्धुलीका निवर्तमान अध्यक्ष नविन श्रेष्ठ लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।