• असोज १७,सिन्धुली/पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु भएको छ । गत असोज ११ र १२ गते आएको अविरल वर्षाले अवरुद्ध भएको मध्य पहाडी राजमार्ग आज ( बिहीबार)वाट एकतर्फी सुचारु भएको हो ।

    बाढी र पहिरोका कारण झन्डै एक साता देखि अवरुद्ध रहेको मध्य पहाडी राजमार्ग कुखुरे टार र कालिआपमा खसेको पहिरो पन्छाएपछि आजबाट एकतर्फी सुचारु भएको गोलञ्जोर गाउँपालिका सिन्धुलीका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले जानकारी दिनुभयो ।

    “ बाढी र पहिरोले मध्य पहाडी राजमार्गका ठाँउ ठाँउमा पहिरो खसेर अवरुद्ध भएको थियो । चार ओटा एक्स्काभेटरले निरन्तर तिन देखि देखि पहिरो पन्छाउने काम भइरहेको थियो । खुर्कोट घुर्मी खण्डमा अक्करेभिर, हैबारबेसी बलेनी, मुर्कीबेसी कुखुरे टार कालिआप कुडुले सुमनामबेसी, लगायत दर्जनौँ स्थानमा पहिरो खसेको थियो । ” उपाध्यक्ष न्यौपानेले भन्नुभयो ।

    खुर्कोट घुर्मी करिब ६१ किलोमिटरका दर्जनौँ स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाउन स्थानीय तह सडक आयोजना तथा स्थानीय बासिन्दाहरू सक्रिय भएका थिए । खुर्कोट घुर्मी खण्ड सुचारु भएसँगै पूर्वी पहाडी जिल्लाहरू खोटाङ, ओखलढुङ्गा सोलुखुम्बु, भोजपुर लगायतका सवारी खुलेका छन् ।