• भदौ ३०,सिन्धुली/नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल चयन हुनुभएको छ । शनिबार भएको दोस्रो अधिवेशनले बलको अध्यक्षतामा ३७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

    नयाँ कमिटीको उपाध्यक्षमा सुनिल माझी, सचिवमा पुनम मोक्तान, उपसचिवमा शिव बोहोरा, नरबहादुर मोक्तान, कोषाध्यक्षमा नुनिमाया मोक्तान चयन भएका छन् ।

    संघका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठले अधिवेशनको उद्घाटन गर्दै युवा संघ पार्टीको मूल प्रवाहको रुपमा रहेको नेतृत्वदायी संगठन भएको बताउनुभयो । संघका बागमती प्रदेश इन्चार्ज तथा नेकपा एमालेका बागमती प्रदेश सदस्यसमेत रहनुभएका उहाँले देशले राजनीतिकरुपमा अधिकार प्राप्तिको लडाइँ सम्पन्न गरेको धारणा राख्नुभयो ।

    “अव देशलाई समृद्धिको यात्रामा सफल बनाउने कार्यदिशासहित युवा संघ अगाडि बढ्दै छ । आम युवाहरुलाई उत्पादनमा जोडिन र उद्यमशील बनेर राष्ट्रिय पूँजी निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली ’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने कार्यभार सफल बनाउन आह्वान गर्दछु,” श्रेष्ठले भन्नुभयो ।

    नेकपा एमाले राष्ट्रिय निर्णायक शक्ति बनेपछि मात्रै देशको भाग्य र भविष्य बद्लिने श्रेष्ठले दाबी गर्नुभयो । सम्पुर्ण देशप्रेमी युवाहरु युवा संघमा गोलबद्ध आवश्यक रहेको र मरिणमा बनेको नयाँ कमिटीले समाजमा रचनात्मक काम गरेर युवा माझमा आकर्षण पैदा गराउनसमेत भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो । कमिटीले यत्रतत्र छरिएका युवाहरुलाई गोलबद्ध बनाउन सफल हुनेसमेत आशा व्यक्त गर्नुभयो ।

    अधिवेशनमा संघका जिल्ला अध्यक्ष अरुण लामा, सचिव श्रवण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।